वालिङमा वडाध्यक्षद्वारा आँधीखोला संरक्षण अभियानका अभियन्तामाथि रड प्रहार

हिमाल प्रेस ४ असार २०८२ १०:५४
वालिङमा वडाध्यक्षद्वारा आँधीखोला संरक्षण अभियानका अभियन्तामाथि रड प्रहार

पोखरा- आँधीखोला संरक्षण अभियानका २ जना अभियन्तामाथि स्याङ्जामा वडाध्यक्षले नै रड प्रहार गरी घाइते बनाएका छन्।

वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधीखोला संरक्षण अभियानमा संलग्न रास्वपाका नेता एवं संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि रड प्रहार गरेका हुन्।

कार्यक्रमबाट फर्किँदै गरेका उनीहरुमाथि काँग्रेसबाट निर्वाचित वडाध्यक्ष खनालसहित अर्का एकजनाले मंगलबार दिउँसो वालिङ–९ सुकौदीमा आक्रमण गरेका हुन्।

रड प्रहारबाट नेपालको हातमा गम्भीर चोट लागेको छ भने आलेलाई नालीमा लडाइएको थियो। आँधीखोला दोहनविरुद्धको अभियान चलाएको भन्दै वडाध्यक्ष खनालले कार्यक्रमस्थलमै अपशब्द बोल्दै आफूहरुमाथि धम्की दिएको दिनकर नेपालले बताए।

उनले भने, ‘ग १ च ८५९० नम्बरको कारमा आएका वडाध्यक्ष खनाल र अर्का एकजनाले रडले हानेर भागेका हुन्। धन्न मैले हेलमेट लगाएको रैछु र ज्यान जोगियो। हामीहरु नदी संरक्षणमा बोल्दै गर्दा आज ज्यान मार्ने उद्देश्यले यो तहको गुण्डागर्दी भएको छ। तत्काल कारबाही हुनुपर्छ।’

रड प्रहारबाट उनले टाउकोमा लगाएको हेलमेट फुटेको छ भने हातमा गम्भीर चोट लागेको छ। आँधीखोला बचाऔं अभियानअन्तर्गत वालिङ ९ स्थित दरबारचोकमा आयोजित विरोध सभा सकेर फर्किने क्रममा उनीहरुमाथि सो घटना भएको हो।

वडाध्यक्ष खनालले घटनाको अतिरञ्जित गरी सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नदीजन्य सामग्री उत्खनन् सम्बन्धित निकायको स्वीकृति र तोकिएको शुल्क तिरेर नै गरिएको दाबी गरेका छन्।

उनका अनुसार नेपालको नेतृत्वमा आएको टोलीले रास्वपाको नाममा आफ्नो निजी स्क्याभेटर कब्जा गर्ने, ब्यानर राख्ने र नदी संरक्षण नाममा आफूविरुद्ध हल्ला फैलाउने काम गरेको थियो।

प्रकाशित: ४ असार २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast