
काभ्रेपलाञ्चोक- स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागु गर्न जुटेका छन्। हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन्। अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको गत जेठ मसान्तमा महाभारत गाउँपालिकाले घोषणा गर्यो।
शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले उक्त गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरेका हुन्।
नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।
उक्त पालिकाभित्र आठवटा वडामा ५० विद्यालय छन्। तीन हजार ४८४ घरपरिवारमा हाल सर्वेक्षण गर्दा विद्यालय उमेरका पाँचदेखि १३ वर्ष उमेर समूहका तीन हजार ६७२ बालबालिका रहेको जनाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएपछि दिगोपनाका लागि जनप्रतिनिधिलगायत सरोकारवालाले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन्।
यसअघि खानीखोला र बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागु गरिएको थियो। खानीखोलाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको थियो।
गाउँपालिकामा बालबालिकाको विवरण संकलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको थियो। उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएको गाउँपालिकाले जनाएको छ।
जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोकले गत वर्ष असार पहिलोसाता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको थियो।
सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ। अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम लिन पाउने छैनन्।