ओली सरकारले अख्तियारको चरम दुरुपयोग गर्‍यो : सुदर्शन बराल

हिमाल प्रेस ३० जेठ २०८२ १८:४९ | Friday, June 13, 2025
ओली सरकारले अख्तियारको चरम दुरुपयोग गर्‍यो : सुदर्शन बराल

बुटवल- नेकपा (माओवादी केन्द्र) लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले केपी ओली नेतृत्वको सरकारले अख्तियारको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। उनले आफ्ना विरोधीहरूसँग प्रतिशोध साँध्न संवैधानिक अंगहरूको दुरुपयोग गरेको बताएका हुन्।

नेकपा माओवादी केन्द्र बुटवल नगर समितिले शुक्रबार बुटवलमा आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बरालले वर्तमान सरकारको गतिविधि ठिक नभएको बताएका हुन्। ‘आफ्ना विरोधीहरू सखाप पार्ने गरी सरकारले संवैधानिक अंगहरूको दुरुपयोग गरेको छ,’ बरालले भने, ‘चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस्, न्यायपालिका होस्, चाहे नेपाल प्रहरी नै किन नहोस्, विभिन्न संयन्त्रलाई विरोधी दल र नेता सक्ने गरी अख्तियारको दुरुपयोग गरिएको छ।’

उनले प्रधानमन्त्री ओलीसँग थोरै मात्रै असहमति राख्नेहरूलाई पनि मुद्दा चलाउने काम भइरहेको बताए। लुम्बिनी प्रदेशका पूर्व मन्त्री समेत रहेका बरालले वर्तमान सरकारले सञ्चारकर्मीमाथि मुद्दा चलाएर मुख थुन्न खोजेको बताए।

‘स्वाभिमानी पत्रकारमाथि मुद्दा चलाउने, कानुनको डन्डा बर्साउने र देशमा झोलेहरू बनाउने प्रयत्न भइरहेको छ,’ उनले भने। उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार सत्ताको चाकर र दलाल जन्माउने अभियानमा लागेको बताए।

कांग्रेस एमालेका चिनिएका भ्रष्टहरूलाई सरकार जोगाएर विपक्षी दल र नेताहरूलाई प्रतिशोध सहित मुद्दा चलाएको उनको भनाइ छ । नेता बरालले को नेतासँग प्रतिशोध साँधिएको भनेर नाम नलिए पनि पछिल्लो समय पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियारले विशेष अदालतमा पेस गरेको मुद्दालाई लक्षित थियो। उनले एमालेले झोले अभियान चलाए पनि एमालेकै विवेक भएकाहरू झोले बन्न तयार नभएको बताए। ‘विवेक भएका एमालेहरूले झोले अभियानलाई रिजेक्ट गरे,’ उनले भने।

प्रकाशित: ३० जेठ २०८२ १८:४९ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast