इमर्जेन्सी मेडिसिन प्राक्टिस कमिटीको उपाध्यक्षमा डा. ओलिता शिल्पकार

हिमाल प्रेस २९ जेठ २०८२ ९:५१ | Thursday, June 12, 2025
इमर्जेन्सी मेडिसिन प्राक्टिस कमिटीको उपाध्यक्षमा डा. ओलिता शिल्पकार

काठमाडौँ- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी आकस्मिक चिकित्सक डा. ओलिता शिल्पकार इमर्जेन्सी मेडिसिन प्राक्टिस कमिटीको उपाध्यक्षमा नियुक्त भएकी छन्। आकस्मिक चिकित्सा क्षेत्रमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा दिएको योगदानको मूल्यांकन गर्दै इन्टरनेसनल फेडेरेसन फर इमर्जेन्सी मेडिसिन (आईफेम) ले हालै उनलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।

अब उनले आकस्मिक चिकित्सा क्षेत्रका १३ वटा विशेष चासो समूहहरूको समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन्। आफ्नो दुई वर्षको कार्य अवधिमा उनी विश्वका प्रमुख आकस्मिक चिकित्सा विशेषज्ञहरूसँग सहकार्य गर्दै विश्वव्यापी स्तरमा आकस्मिक चिकित्सा विकासमा सक्रिय हुनेछिन्।

डा. शिल्पकार (एमडी, डीएम ईएम, एफआरसीपी एडिन) महाराजगन्ज मेडिकल क्याम्पसमा अध्ययनरत छिन्। उनी आकस्मिक चिकित्सामा विद्यावारिधि उपाधि प्राप्त गर्ने नेपालको इतिहासमा पहिलो महिला आकस्मिक चिकित्सकमध्ये एक मानिन्छिन्।

यसका साथै डा. शिल्पकार नेप्लिज सोसाइटी अफ इमर्जेन्सी फिजिसियनको कार्यकारी समितिमा कार्यरत छिन्। उनी एडिनबर्गको रोयल कलेज अफ फिजिसियन्सकी फेलोसमेत हुन्।

डा. शिल्पकार विश्व स्वास्थ्य संगठन नेपाल, स्वास्थ्य सेवा विभाग र नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विभिन्न परियोजनाहरूमा संलग्न छिन्। उनले नेपालको पहिलो राष्ट्रिय दस्तावेज आपत्कालीन स्वास्थ्यसेवा उपचार निर्देशिकाको विकासमा विशेषज्ञका रूपमा प्रमुख भूमिका सम्हालेकी छिन्।

अमेरिकन हर्ट एसोसिएसनकी प्रशिक्षक रहेकी साथै डा. शिल्पकार अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालद्वारा सञ्चालन भइरहेका विभिन्न कार्यक्रममा सुपरभाइजरका रूपमा संलग्न छन्।

प्रकाशित: २९ जेठ २०८२ ९:५१ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast