 
                             
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेका छन्।
सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सोडारीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिँदै निलम्बनको सूचना सार्वजनिक गरेका हुन्।
सोडारी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्। उनको निलम्बनपछि प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या घटेर तीन पुगेको छ। नेकपा विभाजनपछि एमालेबाट निर्वाचित धेरैजसो प्रदेश सांसद सोडारी नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेका थिए।
अख्तियारका अनुसार सोडारीले एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेका थिए। जसमध्ये ८५ लाख ५१ हजार ३३४ रुपैयाँ वैधानिक आम्दानीबाट भएको देखिएको भए पनि बाँकी एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको स्रोत पुष्टि गर्न नसकिएको आरोपपत्रमा उल्लेख छ।
२०७४ माघ ७ देखि २०७९ फागुन १० सम्मको अवधिमा गरिएको छानबिनपछि अख्तियारले सोडारीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैलीयापन गरेको ठहर गरेको हो। आयोगले सोडारीमाथि बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 