बुर्तिबाङ नयाँ सहर योजना १२ वर्षमा पाँच प्रतिशत प्रगति

हिमाल प्रेस २५ जेठ २०८२ १०:२४
12
SHARES
बुर्तिबाङ नयाँ सहर योजना १२ वर्षमा पाँच प्रतिशत प्रगति

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बुर्तिबाङलाई नमुना नयाँ सहरका रूपमा विकास गर्ने सरकारी योजना १२ वर्षपछि पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। सन् २०६९ मा नयाँ सहरको घोषणा गरिएपछिको लामो अवधिमा पनि आयोजनाको प्रगति निकै सुस्त देखिएको छ।

सरकारले आर्थिक वर्ष २०७२/७३ देखि बजेट विनियोजन गरेर आयोजनाको काम सुरु गरे पनि हालसम्म जम्मा पाँच प्रतिशत मात्र काम सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी कोमल शाहले जानकारी दिइन्। उनका अनुसार सहर विकासका नाममा गरिएको बजेट खर्च र भौतिक प्रगतिको अनुपात निकै कमजोर रहेको छ।

हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक, एक सभाहल, एकीकृत भवन, मनोरञ्जन पार्क, दुई स्थानमा ७२ सौर्य बत्ती जडान र ५६ रोपनी जग्गा खरिद गरिएको छ। हाल बसपार्क र टर्मिनल भवन निर्माणको काम भइरहेको छ।

२०६९ देखि २०९० सम्म कार्य सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाका लागि हालसम्म ७८ करोड रुपैयाँभन्दा बढी विनियोजन भइसकेको छ। तर, त्यसमा ५० करोड रुपैयाँमात्र खर्च भएको छ। बर्सेनि बजेटको आकारमा घटबढ हुनु र बजेट कार्यान्वयनमा कमजोरी देखिनु प्रमुख चुनौती बनेको छ।

२०७२/७३ देखि चालु आवसम्म हरेक वर्ष क्रमशः ४.४७ करोडदेखि १८.३३ करोडसम्म बजेट विनियोजन भएको पाइन्छ। तर संरचनागत काम देखिने गरी नभएको स्थानीयवासी कुलमबहादुर घर्तीले बताए। ‘१२ वर्ष भयो सहर विकासको कुरा सुनेको तर अहिले पनि सडक साँघुरो छ, फोहोर व्यवस्थापन छैन, यात्रीहरू जोखिम मोलेर हिँडिरहेका छन्,’ उनले गुनासो गरे।

हाल तारीखेत–कुतथ्याप्ला पहुँचमार्ग, कर्वडहल–दुले सडक, भब्रेटा खेलमैदान र पार्क निर्माणको काम भइरहेको छ। यद्यपि, सहर क्षेत्रका लागि अत्यावश्यक पूर्वाधार-कालोपत्र सडक, विद्युतीकरण, खानेपानी, ढल निकास, हाटबजार, शीतभण्डार र खेलमैदानजस्ता संरचनाहरू अझै अधुरा छन्।

बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन प्रवेशद्वारसमेत हो। यति महत्त्वपूर्ण भौगोलिक र व्यापारिक हैसियत राख्ने स्थानलाई व्यवस्थित सहर बनाउने सरकारी योजना कागजमा सीमित हुने हो कि भन्ने चिन्ता अब स्थानीय तहमा बढ्न थालेको छ।

प्रकाशित: २५ जेठ २०८२ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast