
अमेरिका- अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क क्षेत्रको एक अपार्टमेन्टभित्र नेपाली मूलका एकै परिवारका चार जना मृत फेला परेका छन्।
मृतकमध्ये दुई वयस्क र दुई बालबालिका रहेका छन्। प्रहरीले जनाएअनुसार ज्यान गुमाउनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ तथा उनीहरूका ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्।
बिहीबार राति भएको घटनापछि शुक्रबार घरधनीले उनीहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव घरको भित्री भागमा गोली लागेको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट एकथान बन्दुक पनि बरामद गरेको जनाएको छ।
मनासस पार्क प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको बताउँदै आत्महत्या वा हत्या दुबै सम्भावनाको अध्ययन भइरहेको जनाएको छ। यद्यपि, कसले गोली चलाएको भन्ने विषयमा भने हालसम्म प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
घटनास्थल लानाए लेनको ९४०० ब्लकमा पर्ने अपार्टमेन्ट हो जहाँ उक्त परिवार बस्दै आएको थियो। चारै जनाको शव परीक्षणका लागि मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ।
स्थानीय प्रहरीका अनुसार घटना रहस्यमय भएकाले थप प्रमाण संकलन भइरहेको छ। ‘यो आत्महत्या हो कि हत्या भन्ने विषय अझै पुष्टि हुन बाँकी छ, अनुसन्धान तीव्र पारिएको छ,’ प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।