वैकल्पिक राजनीतिमा युवाको भूमिका र प्रविधि प्रयोगबारे काठमाडौँमा अन्तर्क्रिया

हिमाल प्रेस २४ जेठ २०८२ ७:३१
42
SHARES
वैकल्पिक राजनीतिमा युवाको भूमिका र प्रविधि प्रयोगबारे काठमाडौँमा अन्तर्क्रिया

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सम्बद्ध वैकल्पिक युवा शक्तिद्वारा आयोजित दुईदिने युथ लिडरसीप वर्कशपमा शुक्रबार विभिन्न अनुभवी व्यक्तित्वहरूको ज्ञानवर्धक, ऊर्जाशील र प्रेरणादायी प्रशिक्षण, अन्तर्क्रिया तथा विचार विमर्श भएको छ।

कार्यक्रममा वैकल्पिक राजनीति, सामाजिक चेतना, सूचना प्रविधि र विचारको मार्गदर्शन दिने विषयहरूमा युवा नेतृहरू, राजनीतिक विश्लेषक, लेखक तथा आईसीटी विज्ञहरूबाट मन्तव्यहरू प्रस्तुत गरिएको थियो। सहभागी युवा प्रतिनिधिहरूले प्राप्त प्रशिक्षणलाई प्रेरणादायी, स्मरणीय र जीवनमै परिवर्तन ल्याउने खालको भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा युवा नेतृ मानुषी यमी भट्टराईले वैकल्पिक राजनीतिमा युवाको भूमिका र नेतृत्व क्षमताको विकासबारे दृष्टिकोण प्रस्तुत गरिन्। उनले वर्तमान राजनीतिमा परिवर्तन ल्याउन युवा पुस्ताले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

नागरिक पहिलो अभियानका संयोजक डम्बर खतिवडाले नेपाली राजनीति, विचार र दर्शनका विविध पक्षबारे गहिरो विश्लेषण प्रस्तुत गरे।

त्यस्तै, वरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले सरल भाषाशैलीमा राजनीतिक चेतना र सामाजिक उत्तरदायित्वबारे विचार व्यक्त गरे। उनका शब्दहरूबाट युवा सहभागीहरूले भाषिक क्षमता, विश्लेषणशीलता र सामाजिक बुझाइसम्बन्धी महत्वपूर्ण ज्ञान आर्जन गरेका थिए।

कार्यक्रममा सूचना प्रविधि विज्ञ नारायण कडरियाले आजको युगमा आईसीटीको भूमिका र यसको सशक्त प्रयोगबारे जानकारी गराए। उनको प्रस्तुतिले युवाहरूलाई डिजिटल साक्षरता र प्रविधिको प्रभावकारी उपयोगमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा युवा सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। आयोजक वैकल्पिक युवा शक्तिले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २४ जेठ २०८२ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast