
काठमाडौँ- ग्लोबल आईएमई बैंकले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरेको छ।
बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरेको हो। बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा देशभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो।
यस अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा एक हजार कागतीका विरुवा रोपण गरेको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकलगायतका बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेक परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा तीन सय विरुवा रोपण गरेको छ।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक वन, मेचीनगर, झापालगायतका विभिन्न स्थानहरुमा तीन हजार ७००, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौर, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा पाँच हजार ५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवालगायतका विभिन्न स्थानहरुमा दुई हजार ३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा दुई हजार १००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलरिया, लिवाङ्गलगायतका विभिन्न स्थानमा १ हजार ५००, कर्णाली प्रदेशको वीरेन्द्रनगर र रास्कोटलगायतका स्थानहरुमा ७०० र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगरलगायतका विभिन्न स्थानहरुमा दुई हजार ८६ विरुवा रोपण गरेको छ।
बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकले वृक्षारोपणका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी सहरको सौन्दर्यीकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ।
वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ।