
बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ।
बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा ३१ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
‘मानवीय क्षतिको जानकारी आएको छैन। भौतिक क्षति धेरै भएको छ,’ उनले भने,‘जलेर नष्ट भएका तथा आगो फैलिन नदिन भत्काइएका गरेर ३१ पसल नष्ट भएका छन्।’
आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गरे। उनले विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। हवारीले आगो नियन्त्रणमा रहेको र निभाउने काम भइरहेको बताए।
सुरक्षाकर्मी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए। आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन्।