
काठमाडौँ- राजसंस्था र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको बैठक भाँडिएको छ। काठमाडौँको एक पार्टी प्यालेसमा बुधबार बोलाइएको समीक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठक युवाहरुले होहल्ला गरेपछि भाँडिएको हो।
बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत उपस्थित थिए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठकमा सहभागी केहीले आपत्ति जनाउँदै नाराबाजी गरेका थिए।
राप्रपा अध्यक्ष समीक्षा बैठकमा उपस्थित नभएर संसद् बैठकमा गएको भन्दै सहभागीहरूले नाराबाजी गरेका हुन्। राप्रपाका सबै सांसदलाई फिर्ता बोलाउनुपर्ने उनीहरूको भनाइ थियो। राप्रपाका सांसदहरूले तलबभत्ता खाइरहने अनि आफूहरू आन्दोलनमा जानुपर्ने कुरा उपयुक्त नभएको उनीहरूले बताएका थिए।
बैठककै बीचमा राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नाराबाजी तथा होहल्ला भएपछि उनी त्यत्तिकै फर्किएका थिए।
समीक्षा बैठकमा भाँडभैलो मच्चिएपछि दोस्रो चरणको आन्दोलनसमेत घोषणा हुन सकेन। त्यसपछि संयोजक सुवेदीले पहिलो चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिट्टै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने प्रतिबद्धता जनाए।
सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाले छुट्टै भेला गरेका थिए। राजसंस्था पुनः स्थापनाको अभियानमा जुटेका राजावादीबीच विगतमा पनि फाटो देखिएको थियो। यसअघि छुट्टछुट्टै अभियानमा हिँडेका उनीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनपछि एक ठाउँमा उभिएका थिए। राजसंस्था पुनः स्थापनाकाका अगाडि बढाएको आन्दोलनले गति लिन नसक्दा उनीहरूमाथि हतास बनेको आरोप लाग्न थालेको छ।