अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्न परिपत्र

हिमाल प्रेस १६ जेठ २०८२ १६:१९ | Friday, May 30, 2025
अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्न परिपत्र

काठमाडौँ– नेकपा (एमाले) ले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेरहद लागू गर्न परिपत्र जारी गरेको छ।

महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन्।

मल्लले महासचिव पोखरेलको परिपत्र शुक्रबार प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी र्दिए।

एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो।

परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन्।’

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ।

यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेरहद तोकेका थिए।

एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेरहद तोकेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ। अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ।

प्रकाशित: १६ जेठ २०८२ १६:१९ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast