‘विकल्प दिए बागमती किनार छाड्न तयार छौँ’

हिमाल प्रेस २८ पुष २०७९ १५:४६ | Thursday, January 12, 2023
‘विकल्प दिए बागमती किनार छाड्न तयार छौँ’ काठमाडौँ महानगरपालिकाले बस्ती खाली गराउने क्रममा घरका सामान निकाल्दै बागमती किनारमा सुकुम्बासीहरू। फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ– थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरू अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन्। विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रूपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए।

‘अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई पो रहर हुन्थ्यो र?, ‘ उनले भने, ‘सरकारले अन्यत्र व्यवस्था गरिदिए हामीलाई यो स्थान छाड्न सजिलो हुन्थ्यो।’

उनीसँगै सुकुम्बासी बस्तीमा लामो समयदेखि बस्दै आउएका गोपाल पौडेल पनि चौधरीसँग सहमत छन्। ‘ममात्रै होइन, बस्तीका अधिकांश मानिसहरू यहाँबाट सर्न तयार छौँ, तर व्यवस्था बिना कहाँ र कसरी सर्ने ?’, उनले प्रश्न गरे।

एकीकृत बागमती सभ्यता विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियाले थापथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि आफूहरूले अध्ययन गरिरहेको जानकारी दिए। ‘केही समयअघिसम्म उनीहरू (सुकुम्बासी) अहिलेकै स्थान छाड्न तयार थिए, तर अहिले अर्को ठाउँमा व्यवस्था भए जान तयार भएको हामीले पाएका छौँ’, उनले भने।

यसका लागि छलफल चलिरहेकोसमेत उनले बताए। ‘छलफल अघि बढिसकेको छ तर सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त नभइसकेकाले निष्कर्ष निकाल्न सकिएको छैन’, उनले भने। नयाँ मन्त्री आउनासाथ ‘ब्रिफिङ’का लागि तयारी पनि भइरहेको उनले जानकारी दिए।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवम् प्रवक्ता नरेन्द्र खड्काले काठमाडौँ महानगरपालिकासँग बागमती नदी किनारका सुकुम्बासी व्यवस्थापनका लागि समन्वय हुने बताए।

‘देशभरका सबै स्थानीय तहमा लगत संकलन र प्रमाणीकरणको काम अघि बढेको छ। तर काठमाडौँ महानगरले भने काम अघि बढाएको छैन’, उनले भने।

थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौँ महानगरले दुई हप्ताअघि गृह मन्त्रालयसमक्ष सहयोगका लागि अनुरोध गरेको थियो। तर गृह मन्त्रालयले भने आवश्यक छलफल, समन्वय र पूर्वतयारी नभएसम्म सहयोग नहुने र पूर्णरूपमा प्रक्रिया मिचेर बस्ती हटाउन नसकिने जवाफ दिइसकेको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरले गृह मन्त्रालयको निर्देशनअनुसार महानगरले तत्काल केही कदम नचालेको बताए।

प्रकाशित: २८ पुष २०७९ १५:४६ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast