
काठमाडौँ- प्रविधि क्षेत्रका अर्बपति एलन मस्कले ट्रम्प प्रशासनमा रहेको आफ्नो समय अन्त्यमा पुगेको बताएका छन्। ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि उनलाई सरकारी कार्यक्षमता विभागको नेतृत्व गर्न विशेष सरकारी कर्मचारीको दर्जा दिइएको थियो। उनले बुधबार साँझ ट्रम्प प्रशासनमा रहेको समय सकिन लागेको बताएका हुन्।
विभागको नेतृत्व गरिरहँदा मस्कले संघीय खर्च कटौती गर्ने ट्रम्प प्रशासनको प्रयासअन्तर्गत संघीय कर्मचारी संख्यामा कटौतीको निरीक्षण गरेका थिए।
‘विशेष सरकारी कर्मचारीका रूपमा मेरो तोकिएको अवधि समाप्त हुँदै गर्दा म राष्ट्रपति ट्रम्पलाई फजुल खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु’, मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।
एलन मस्कपछि हटे पनि विभागले आफ्नो काम यथावत् रूपमा जारी राख्नेछ। विभागका कर्मचारी अझै पनि संघीय निकायमा वर्षौँसम्म रहने गरी परिचालित रहने अमेरिकी सञ्चार संस्था सीएनएनले जनाएको छ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार मस्कले विशेष सरकारी कर्मचारीका रूपमा १३० दिनमात्रै कानुनी रूपमा काम गर्न पाएका छन्। उनले अवकाश प्रक्रिया सुरु गरिसकेका छन्। ।
पछिल्ला दिनमा मस्कले पूर्णकालीन सरकारी भूमिकाबाट पछि हट्दै आफ्ना कम्पनी स्पेस एक्स र टेस्लातर्फ ध्यान दिन थालेका छन्। यी कम्पनीहरू मस्कको ट्रम्प प्रशासनसँगको गठबन्धनका कारण केही हदसम्म अप्ठ्यारो अवस्थामा पुगेका छन्।
मस्कको उक्त पोस्ट उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर र खर्च कटौती प्याकेजप्रति चिन्ता व्यक्त गरेपछि आएको हो। मस्कले सीबीएस सन्डे मर्निङसँगको अन्तर्वार्तामा उक्त प्याकेजले अमेरिकाको बजेट घाटा बढाउने र विभागको प्रयासलाई कमजोर पार्ने विश्वास व्यक्त गरेका थिए।
‘म ठूलो खर्चको विधेयक देखेर निराश भएँ, जसले घाटा घटाउने होइन, उल्टै बढाउने काम गर्छ र विभागको टोलीले गरिरहेको कामलाई कमजोर बनाउँछ,’ मस्कले अन्तर्वार्तामा भने, ‘मेरो विचारमा कुनै विधेयक ठूलो हुन सक्छ वा सुन्दर हुन सक्छ तर दुवै एकसाथ हुन सक्ने होइनजस्तो लाग्छ।’
राष्ट्रपति ट्रम्पले मस्कको त्यो टिप्पणीलाई हल्का पारामा लिएका छ्न्। उनले भने, ‘विधेयक सिनेट हुँदै जाँदा अझै परिवर्तन हुने आशा छ।’ साथै उनले विधेयकको सबै पक्षप्रति आफू सन्तुष्ट नभएकाले यसबारे थप वार्ता हुनुपर्ने बताएका छन्।
मस्कको नेतृत्वमा ट्रम्प प्रशासनको पहिलो चार महिनाभित्र विभागले संघीय सरकारको संरचना हल्लाइदिएको छ। ट्रम्पको पहिलो एक सय दिनभित्र कम्तीमा एक लाख २१ हजार संघीय कर्मचारीलाई हटाइएको छ। हजारौँले स्वेच्छिक अवकाश रोजेका छन्। संघीय अनुदान र कार्यक्रमहरू व्यापक रूपमा कटौती गरिएका छन्।
मस्कको अवकाशपछि विभागको आकार र त्यसको कामको दायरा कति हुने भन्नेबारे ट्रम्प प्रशासन अस्पष्ट देखिएको छ। विभागकी प्रमुख सल्लाहकार तथा प्रवक्ता केटी मिलरले पनि आफ्नो पद छाडेकी छन्। उनी मस्कसँग काम गर्न थालेकी छन्।
मस्कले गत नोभेम्बरमा अमेरिकामा भएको चुनावमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई निर्वाचित गराउन २९० मिलियनभन्दा बढी डलर खर्च गरेका थिए।
ट्रम्पद्वारा घोषणा गरिएका आयात कर लागू गर्न रोक
अमेरिकाको एक व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएका आयात कर लागू गर्न रोक लगाएको छ। समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्पले अमेरिकाका व्यापार साझेदारहरूको आयातमा व्यापक कर लगाएर आफ्नो अधिकारको अतिक्रमण गरेको अदालतको भनाइ छ। केही मिनेटमै ट्रम्प प्रशासनले अपिलको सूचना दायर गरी अदालतको अधिकार क्षेत्रमाथि प्रश्न उठाएको छ।
‘द कोर्ट अफ इन्टरनेसनल ट्रेड’ का तीन जना न्यायाधीशहरूको इजलासले ट्रम्पका आयात शुल्क आदेशहरूमा रोक लगाउने फैसला सुनाएको हो। अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँगको व्यापार नियन्त्रण गर्ने विशेष अधिकार दिए पनि राष्ट्रपतिले अमेरिकी अर्थतन्त्रको सुरक्षाका लागि उपलब्ध आपतकालीन शक्तिहरूलाई अतिक्रमण गर्न नसक्ने अदालतको आदेशमा उल्लेख छ।