त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान सुरु

हिमाल प्रेस १३ जेठ २०८२ २१:०१
20
SHARES
त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान सुरु

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान मंगलबारदेखि सुरु भएको छ। यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएको सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठले बताए।

रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ। पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये मंगलबार पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए।

‘प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कंक्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ। रंगशालाको कंक्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने, ‘रंगशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पीसीसी गरि ढलान गरिएको छ। पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ। सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ।’

प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन्। यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast