डुडियाघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

हिमाल प्रेस १२ जेठ २०८२ ९:१९ | Monday, May 26, 2025
डुडियाघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

बागलुङ- बागलुङको काठेखोला गाउँपलिकाभित्र दुई पक्की पुल सञ्चालनमा आइसकेका छन् भने एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

काठेखोलामा वार्षिक एउटा पक्की पुल निर्माण सम्पन्न भइरहेको गाउँपालिकाले जनाएको छ । दुई वर्ष पहिले लामाबगरमा पक्की पुल सम्पन्न भएको थियो भने गत वर्ष एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको थियो । यस वर्ष डुडियाघाटमा अर्को पक्की पुल ढलानको तयारीमा छ।

गण्डकी प्रदेश सकारको १२ करोड लगानीमा पुल निर्माण जारी रहेको हो । पक्की पुल निर्माण भएपछि रेश, तङ्ग्राम र धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

‘पक्की पुल निर्माण गर्न गाउँपालिकाले सक्दैन, प्रदेश सरकारले काठेखोलाको अधिकांश भाग समेट्ने गरी अहिलेसम्म पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो, दुई वर्षअघि लामाबगर, एक वर्षअघि रेश खोला पुल बन्यो र अहिले डुडिया खोलामा पुल निर्माण अन्तिम चरणमा रहेको छ’, उनले भने, ‘प्रदेश सरकारले तीन वटा पुलमा रु १२ करोड लगानी गरेको छ, मोटरेवल पुलका कारण बाह्रैमास सवारी चल्ने भएका छन्, पुल नहुँदा बर्खामा सवारीसाधन ठप्पजस्तै हुन्थे।’

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा दुई वर्ष पहिले ३० मिटर लामो पक्की पुल निर्माण भएको थियो। उक्त पुल तीन करोड ३१ लाख लागतमा नीलगिरि/नेसनल जेभीले निर्माण सम्पन्न गरेको थियो।

यस्तै गत वर्षदेखि रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल निर्माण भएको थियो। उक्त पुल पाँच करोड लागतमा प्रदेश सरकारलको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले निर्माण गरेको थियो ।

काठेखोला–२ भिमापोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्नेगरी डुडियाखोलामा अर्को पक्की पुल ढलानको तयारीमा रहेको छ । जेठ महिनाभित्रै पुलको ढलान सक्ने तयारी निर्माण व्यवसायीको भनाइ छ ।

निर्माण कम्पनीले २०८० कात्तिक १७ गते पुल बनाउन सम्झौता गरेका थिए । कम्पनीले डुडियाघाट खोला मोटरेवल पुल १८ महिनापछि निर्माणको अन्तिम चरणमा पुुर्‍याएको छ।

आरसीसीटीबिम प्रकारको पुल ८ दशमलव ४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ । उक्त पुलको काम झण्डै ७० प्रतिशत प्रगति भएको छ।

उक्त पुल ढलानका लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीका विमलेश आचार्यले जानकारी दिए। उनले तीन करोड ६२ लाख २२ हजारमा ठेक्का सम्झौता गरी पुल निर्माण भइरहेको जानकारी दिए।

सम्झौता मितिअनुसार वैशाखमै सक्नुपर्ने पुल एक महिना ढिलागरी ढलान गर्न थालिएको हो। पुल निर्माणले काठेखोला गाउँपालिकाको दुई वडा तङ्ग्राम र धम्जामा बाह्रैमास सवारीसाधन चल्नेछन्।

प्रकाशित: १२ जेठ २०८२ ९:१९ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast