
काठमाडौँ- भारत बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवले आफ्नो छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निस्कासित गरेका छन्।
सामाजिक सञ्जाल एक्समामा अध्यक्ष यादवले यो जानकारी दिएका हुन्। अबदेखि पार्टी र परिवारमा तेजप्रतापको कुनै प्रकारको भूमिका नरहने उनले बताएका छन्।
अध्यक्ष यादवले लेखेका छन्,‘निजी जीवनमा नैतिक मूल्यको अवहेलना गर्नु सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। ज्येष्ठ पुत्रको गतिविधि लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य एवं संस्कारण अनुरूप छैन।’
यही कारण तेजप्रतापलाई पार्टी र परिवारबाट निष्कासित गरेको उनले बताएका छन्। उनले लेखेका छन्,‘त्यसकारण उपरोक्त परिस्थितिका कारण उसलाई पार्टी र परिवारबाट टाढा गर्दैछु। अबदेखि पार्टी र परिवारमा उसको कुनै पनि प्रकारको भूमिका रहने छैन। उसलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिएको छ।’
यसअघि शनिबार आरजेडी नेता तेजप्रताप यादवको फेसबुक एकाउन्टबाट एउटा पोस्ट गरिएको थियो। त्यो पोस्टपछि विपक्षले आरजेडीको विरोध गरेको थियो।
आरजेडी नेता एवं पूर्वमन्त्री तेजप्रतापले शनिबार फेसबुकमार्फत आफ्नो निजी जीवनबारे एक खुलासा गरेका थिए। विगत १२ वर्षदेखि अनुष्का यादव नामकी महिलासँग सम्बन्धमा रहेको र एकअर्कासँग माया गर्ने गरेको उनले फेसबुकमा लेखेका थिए।

तेजप्रतापले दुईपटक महिलाका साथ तस्बिर पोस्ट गरेर डिलिट गरेका थिए। पछि उनले सामाजिक सञ्जाल एक्समा आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गरेका थिए।