 
                             
                                            काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ।
विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन समितिले अख्तियारलाई पठाएको हो।
जेठ ७ गते बसेको समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको थियो।
समितिको यही निर्णयका आधारमा समितिले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन अख्तियारमा पठाएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो। लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गरेको छ।
उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ।
प्रतिवेदनमा रहेका विषयहरूलाई यथाशीघ्र अध्ययन, अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने गरी अख्तियारमा पठाउने निर्णय लेखा समितिको बैठकले गरेको थियो।
बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनमाथि असहमति जनाएका थिए। भ्रष्टाचारको कुरा आएपछि अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाई थियो। सांसद भट्टराईले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने बताएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 