
पोखरा- पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पुनः सक्रिय हुँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा अब सराङकोट र तोरीपानीबाट उडान भई खपौदीमा अवतरण हुने निर्णय गरिएको छ।
यससँगै उडान समय पनि बिहान ११ बजेदेखि साँझ ४:३० बजेसम्म तोकिएको छ। व्यवसायी तथा पर्यटकले यो निर्णयलाई उत्साहजनक मानेका छन्।
उक्त निर्णयले विस्थापित प्यारापाइलटलाई पुनः अवसर दिने, पोखरालाई साहसिक पर्यटनको केन्द्र बनाउने र भ्रमण वर्ष २०२५ मा टेवा पुग्ने बताइएको छ।
सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै पाइलटहरूलाई प्राविधिक तालिम दिइएको छ भने जीपीएस र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई सुरक्षित र व्यवस्थित बनाइएको बताइएको छ।
हाल पोखरामा करिब ५९ कम्पनी, ४०० टेन्डम पाइलट छन्।