म्याग्दीमा भूमेपूजापछि ‘लिंगो जुधाउने’ अनौठो परम्परा

हिमाल प्रेस ७ जेठ २०८२ ८:१६ | Wednesday, May 21, 2025
म्याग्दीमा भूमेपूजापछि ‘लिंगो जुधाउने’ अनौठो परम्परा

म्याग्दी- रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिंगो जुधाउने’ प्रतियोगिता भएको छ। भूमेपूजापछि लिंगो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन्।

मंगलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ। प्रतियोगिता मुन्का डाँडामा भएको थियो। सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए।

पुर्खौली सोरठी भाका र नाचका साथै पञ्चैबाजासहित भूमेपूजाको लिंगो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए।

मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिंगो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेका वडाध्यक्ष गर्बुजाले बताए। मंगलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिंगो जुधाएका हुन्। प्रतियोगितामा सिंगारिएका अग्ला बाँस जुधाइन्छ।

प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई महत्व दिँदै आएका छन्। दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो मंगलबारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन्।

प्रकाशित: ७ जेठ २०८२ ८:१६ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast