मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

हिमाल प्रेस ६ जेठ २०८२ ७:५८ | Tuesday, May 20, 2025
मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट-याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ।

यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ।

हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ। मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए।

उनले भने, ‘हरिचोक-याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ। चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ।’ हरिचोक-याम्दी सडक १८ मिटर फराकिलो हुने छ। त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ। यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ।

लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो।

सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए। पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे।

लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो।

साविकको पोखरा-बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन्।

प्रकाशित: ६ जेठ २०८२ ७:५८ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast