
अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ। केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको ज्यान गएको पुष्टि भएको समाचारमा जनाइएको छ ।
अधिकारीहरूले ज्यान जानेको संख्या अझै बढ्न सक्ने बताएका छन्। मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ। धेरैको छाना उडेको छ र विद्युत् लाइनहरू ढलेका छन्। केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ।
सेंट लुइसका अधिकारीहरूले सबैभन्दा बढी क्षति भएका क्षेत्रमा घर–घरमा गएर खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन्।
सबैभन्दा बढी क्षति भएका दुई क्षेत्रहरूमा दुर्घटना रोक्न र चोरी नियन्त्रण गर्न राति ९ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ।