९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा

हिमाल प्रेस ३१ वैशाख २०८२ २०:५१ | Wednesday, May 14, 2025
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा

काठमाडौँ– कुमारी बैंक लिमिटेडको अगुवाईमा मर्स्याङ्दी नदीमा एम.ए. पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानीसम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक, सानिमा विकास बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता भएको हो।

एम.ए.पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ। साथै लोल्मा इम्पाक्ट फण्डको पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए।

यही समुहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

नेपाल विद्युत प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई २०८६ वैशाख २२ देखि व्यापारिक उत्पादन सुरू गर्नुपर्ने बताइएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांक प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए। आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ।

प्रकाशित: ३१ वैशाख २०८२ २०:५१ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast