
काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पनि महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।