
काठमाडौँ- सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ।
एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्म पुगेर डोरी टाँगेको हो। टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन्। यो पटक सगरमाथाको ‘रोप फिक्सिङ’मा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ।
‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यो वर्षको सगरमाथा आरोहण औपचारिकरूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्’, विभागका निर्देशक लीलाधर अवस्थीले भने। मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए।
एटके एक्सपीडिसनका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए।
‘मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण शुरु हुन्छ। अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्’, उनले भने।
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका हुन्।
मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र यो अवधिमा धेरै आरोहण हुने एक्सिपिडिसन कम्पनीको अनुमान छ। मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पटक आरोहणमा जाम हुनसक्ने जनाइएको छ।
यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन्। टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा छन्।
त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन्। आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भंग गर्ने योजनामा छन्।
भारतकी सबैभन्दा जेष्ठ नागरिक आरोहण गर्ने तयारीमा छन्। यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन्।
४२१ लाई अनुमति
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै एकदुई टिम थपिने विभागको अनुमान छ। अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए।