![भारत-पाक द्वन्द्वको असर : सीमा क्षेत्रमा बढ्यो सशस्त्र प्रहरीको गस्ती र चेकप्वाइन्ट [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/05/APF_TEAM.jpg)
काठमाडौँ– पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ।
मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यसैगरी भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग संयुक्त रुपमा गस्ती बढाइएको छ। सीमावर्ती क्षेत्रहरुमा १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको छ।
नेपाल-भारत सीमा परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावत सहजीकरण गर्ने कार्यसमेत गरिएको छ।
तस्बिर स्रोत : सशस्त्र प्रहरी बल