एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

हिमाल प्रेस २३ वैशाख २०८२ ७:०९
10
SHARES
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी- एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण बस्दैछ। रघुगंगा गाउँपालिका-५ झिँमा एक करोड ४८ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ।

आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो। आव २०७९/८० मा ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो।

७१ लाख ६६ हजार ४१५ रुपैयाँमा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो।

चालु आर्थिक वर्षमा विनियोजन भएको २७ लाख बजेट रुपैयाँबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए। भवन निर्माण गर्न ५९ लाख रुपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ।

नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ। भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए। आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो।

वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्।

मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए। एक करोड १५ लाख ८६ हजार ४४७ कबोलेमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो।

ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए। आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८२ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast