
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोग गर्ने विद्यार्थीलाई दण्ड वा जरिवाना गरिएको भन्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शिक्षा विभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा महानगरअन्तर्गतका केही अंग्रेजी माध्यम विद्यालयहरूले कक्षा बाहिर समेत विद्यार्थीलाई अंग्रेजी बोल्न बाध्य बनाएको, नेपाली भाषामा संवाद गर्दा दण्ड दिएको वा जरिवाना गरेको भन्ने गुनासो सार्वजनिक भएपछि यसप्रकारका कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
महानगरपालिकाले कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशन दिएको छ।
साथै, यस्तो कार्यले विद्यार्थीको भाषिक अधिकारमाथि हस्तक्षेप हुने भन्दै यदि कुनै विद्यालय अझै पनि यस्ता कार्यमा संलग्न पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ।
महानगरपालिकाले सम्बन्धित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई यसबारे सचेत रहन र यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेको छ।