गुर्जामा सामूहिक तरकारीखेती

हिमाल प्रेस १८ वैशाख २०८२ ११:२७
गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी- धवलागिरि गाउँपालिका १ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन्।गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन्।

करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताए। ‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो’, उनले भने, ‘तरकारी आयात घटाउने, स्थानीयबासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्गानिक स्वाद पस्किने उद्देश्यले सामूहिक खेती गरेका हौँ।’

समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा रहेको, सडक यातायातको सुविधा नपुगेको गुर्जा म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित छ।

उच्च पहाडी क्षेत्रमा अवस्थित गुर्जामावेष गरेर खुर्सानी आयात हुने गर्दछ। धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले परिक्षणका लागि गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य खेती विस्तार गर्न थालिएको बताए।

उनका अनुसार यसअघि घुम्ती व्यापारीले बोकेर लैजाने खुर्सानीलाई प्रतिकिलो चार सय रुपैयाँका दरले किन्नुपर्ने अवस्था छ। गुर्जाबासीले बर्खायाममा जंगलमा प्रशस्त मात्रामा पाइने च्याउ, ढकायोको टुसालाई तरकारीका रूपमा उपभोग गर्नुका साथै आफन्तलाई कोसेली पठाउने र बिक्रीसमेत गर्छन्।

हिउँद याममा भने तरकारीको अभाव हुने भएकाले खेती गर्न थालिएको वडाध्यक्ष छन्त्यालले उल्लेख गरे। स्थानीय जातको मुलालाई धजरा, गुन्द्रुक, च्याउको सुकुटी बनाएर हिउँदमा तरकारीको रूपमा प्रयोग गर्छन्।

सामूहिक रूपमा तरकारीखेतीसम्बन्धी आधुनिक प्रविधि र सीप सिकाउने काम भइरहेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले बताए। तीनवटा प्लास्टिक टनेल बनाएर टमाटरखेती र तरकारीको बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए।

किसानलाई तरकारीखेतीसम्बन्धी तालिमका साथै बीउ र टलेल खरिदमा गाउँपालिकाले सहयोग गरिरहेको प्राविधिक थापाले बताए। यहाँ दलित र अल्पसंख्यक छन्त्याल समुदायका २५० परिवारको बसोबास छ। छन्त्याल संकृतिमा रमाउन र प्राकृतिक सौन्दर्यमा रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।

प्रकाशित: १८ वैशाख २०८२ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast