
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को मंगलबारको खेलमा पञ्जाव किंग्ससँग ४ विकेटले पराजित भएपछि चेन्नई सुपर किंग्स समूह चरणबाट बाहिरिएको छ।
लगातार खराब प्रदर्शनपछि पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफमा स्थान बनाउँनै असफल भयो। चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँच पटक आईपीएलको उपाधि उचालेको थियो।
घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदा एक सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा पञ्जावले दुई बलअघि ६ विकेट गुमाउँदै जित निकालेको हो।
छैटौँ जितले पञ्जावको प्लेअफ सम्भावना बढायो। टोली १० खेलबाट १३ अंकसहित दोस्रो स्थानमा उक्लियो । ९ खेलमध्ये जम्मा दुई जित निकालेको चेन्नई ४ अंकसहित पुछारमा रह्यो।
पञ्जावको जितमा कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहले अर्धशतक बनाए। तेस्रो नम्बर क्रिजमा पुगेका अय्यरले ४१ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७२ रन बनाएका हुन्।
ओपनर सिंहले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे । अय्यर र प्रभसिमरनबीच ५० बलमा ७२ रनको साझेदारी भएको थियो।
यसअघि पहिला ब्याटिङ गरेको चेन्नईको लागि साम करनले ४७ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८८ रन बनाएका थिए। डेवाल्ड ब्रेभिसले ३२ रनको योगदान गरे। करन र ब्रेभिसबीच चौथो विकेटको लागि ५० बलमा ७८ रनको बलियो साझेदारी भएको थियो।
यता, पञ्जावका युजभेन्द्र चहलले ह्याट्रिक विकेट लिए। उनले ३ ओभरमा ३२ रन खर्चिँदै ४ विकेट लिएका थिए । चहलले १८ ओभरमै दीपक हूडा, अन्सुल कम्बोज र नूर अहमदलाई आउट गराएका थिए।
बिहीबार हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।