आफ्नो गल्ती ढाकछोप गर्न लिङ्देनले भ्रामक कुरा गरे : कांग्रेस

हिमाल प्रेस १४ वैशाख २०८२ १६:५४ | Sunday, April 27, 2025
आफ्नो गल्ती ढाकछोप गर्न लिङ्देनले भ्रामक कुरा गरे : कांग्रेस फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठामा आँच पुर्‍याउने गरी संसदमा भ्रामक कुरा गरेको आरोप लगाएको छ।

चैत १५ गते भाटभटेनीमा भएको लुटपाट घटनासम्बन्धमा राप्रपा अध्यक्ष लिङ्देनले गरेको टिप्पणीप्रति कांग्रेसले यस्तो बताएका हो।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राप्रपाका कार्यकर्ताले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले लिङ्देनल निराधार आरोप लगाएको बताएका छन्।

अध्यक्ष लिङ्देनले लक्षित गरेको व्यक्ति एक जिम्मेवार नेपाली रहेको र घटनाका दिन नेपालमा समेत न रहेको विश्वकर्माले प्रस्ट पारेका छन्।

‘अध्यक्ष लिङ्देनले लक्षित गर्नु भएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरहेको अवस्थामा राप्रपाका कार्यकर्ताहरूले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले अवाञ्छित कार्यको दोष एक जना जिम्मेवार र सभ्य नागरिकमाथि लगाउनु अत्यन्तै निन्दनीय कार्य भएकाले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ,’ विश्वकर्माले विज्ञप्ति निकालेर भनेका छन्।

राजनीतिक पार्टीका अध्यक्षको तर्फबाट संसदमा आधारहीन कुरा प्रस्तुत गर्न भन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउन उनले राप्रपा अध्यक्ष लिङ्देनलाई सुझाव दिएका छन्।

अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र संसदसमेतको गरिमालाई ध्यानमा राख्न लिङ्देनलाई आग्रह गर्दै विश्वकर्माले भ्रामक कुराबाट सचेत रहन अपिल गरेका छन्।

भाटभटेनी लुटपाटमा कांग्रेसका एक जना सहमहामन्त्रीको छोर संलग्न भई प्रहरीले समातेको र गृहमन्त्रीको आदेशले रिहा गरिएको भनी राप्रपा अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्ति भ्रमणपूर्ण रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताएका छन्।

गत शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेसका एक जना सहमहामन्त्रीको छोरा संलग्न भएको र गृहमन्त्रीको आदेशपछि प्रहरीले उनलाई छाडेको बताएका थिए। लिङ्देनले भने सहमहामन्त्रीको नाम खुलाएका थिएनन्।

प्रकाशित: १४ वैशाख २०८२ १६:५४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast