
काठमाडौँ- गत माघमा नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनभित्र उमेर हद लगाएपछि अन्य संगठनमा पनि उमेर हद राख्न थालिएको छ। लामो विवादपछि माओवादीनिकट अखिल क्रान्तिकारीले उमेर हद (३२) मा कायम गरेको थियो।
क्रान्तिकारीको यो निर्णयपछि नेकपा एमाले निकट अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन) मा पनि उमेर हदको विषय जोडतोड उठिरहेको छ। पार्टी पदाधिकारी/केन्द्रीय नेताहरू उमेर हदका पक्षमा उभिएकाले अखिलमा उमेर हद लाउने/नलाउने विषयमा बहस भइरहेको हो। संगठनका वर्तमान पदाधिकारी भने उमेर हद लाग्दा आगामी नेतृत्व लिनबाट वञ्चित हुनुपर्ने भन्दै असन्तुष्ट छन्।
आउँदो जेठ १ गतेका लागि निर्धारित अखिलको सम्मेलन पनि उमेर हदजस्ता विषयले सर्ने निश्चित छ। ‘सम्मेलन केही समय सर्ने देखिएको छ। सम्मेलनको तयारी नपुग्ने देखिएकाले सार्नुपर्ने भयो,’ अखिल महासचिव नरेश रोकायले भने।
रोकायका अनुसार प्रतिनिधि छनोटदेखि अन्य कामसमेत बाँकी छ। ‘प्रतिनिधि छनोटलगायतका विषयमा समस्या भए पनि समाधान हुन्छ। व्यवस्थापकीय पक्ष मिलाउन बाँकी छ’, उनले भने। शुक्रबार बस्ने सचिवालयको बैठकले सम्मेलन मिति तय गर्ने उनको भनाइ छ।
अखिलका एक पदाधिकारीका अनुसार बैठकले उमेर हदको निर्णय लिनेछ। नेताहरूका अनुसार शुक्रबार पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा बस्ने संगठनको पदाधिकारी बैठकले उमेर हदको टुंगो लगाउनेछ। ‘उमेर हद लाग्ने त लगभग निश्चित छ। ३०–३२ (वर्ष) कति लगाउने भन्नेमा मात्रै अनिश्चित हो’, ती पदाधिकारीले भने। यसअघि बसेको सचिवालय बैठकले पनि उमेर हदको विषय निकालेको थियो तर निर्णय लिन सकेन।
यही कारण पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन प्रमुख भानुभक्त ढकालससहितको उपस्थितिमा संगठनको बैठक बस्न लागेको हो।
किन एकाएक निस्कियो उमेर हदको विषय?
उमेर हद लगाउने विषय निस्किनुको प्रमुख कारण माओवादी निकट क्रान्तिकारीभित्र उमेर हदको प्रभाव हो। नेताहरूका अनुसार क्रान्तिकारीले उमेर हद लगाएपछि अखिलमा पनि उमेर हदको तरंग निस्किएको थियो।
अर्को कारण पार्टी नेतृत्व उमेर हद लगाउने पक्षमा उत्रिनु हो। हालका उपाध्यक्ष एवं भाबी नेतृत्वका आकांक्षीसँग पार्टी नेतृत्व असन्तुष्ट रहेको अखिलका एक नेताले बताए।
‘पछिल्लो समय पार्टीमा रक्षात्मक भएर प्रस्तुत नभएको, शिक्षक आन्दोलनतिर ऐक्यबद्धता जनाएको कुराले असन्तुष्टि देखिएको छ,’ ती नेता भन्छन्, ‘वर्तमान नेतृत्वलाई समेत पदाधिकारीहरूले असहयोग पुर्याएको भन्ने छ।’
अखिल अध्यक्षको दाबेदारका रूपमा उपाध्यक्षहरू वर्तमान उपाध्यक्ष नारायण घर्ती, धर्म गिरी, गोविन्द गिरी, मर्यादा विष्ट र महासचिव नरेश रोकाया छन्। यिनैमध्ये केहीले अध्यक्ष समिक बडाललाई असयोग गरेको आरोप लागेको छ। यही कारण यी आकांक्षीबाहेकबाट नेतृत्व आउनुपर्छ भन्ने एमाले नेतृत्वको रहेको ती अखिलका ती नेता बताउँछन्।
उमेर हद लगाउने प्रक्रिया भने अन्योलमा छ। अखिलका सचिव डा. सुजन कडरिया उमेर हद लगाउने निर्णय कि पार्टी नेतृत्व (केपी शर्मा ओली) ले निर्देशन जारी गर्नुपर्ने वा पार्टीको विधान सम्मेलनले तय गर्नुेपर्ने बताउँछन्।
‘म सधैँ आवधिक सम्मेलनका पक्षमा छु। उमेर हद वैधानिक बाटोबाट लगाउनुपर्छ,’ कडरिया भन्छन्, ‘कोही नेताहरू बोलेकै भरमा वा कोही व्यक्तिले भन्दैमा उमेर हद लाग्नुपर्छ भन्ने छैन।’ कडरिया आफू उमेर हदविरुद्ध नरहेको बताउँछन्।
उमेर हद लाग्नुको कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन पनि हो। जहाँ अखिल दोस्रो मात्र भयो। यसका साथै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अखिलका उम्मेदवार सिद्धान्त भट्ट नेविसंघसँग थोरै मतले पराजित भए। भट्टले ८ मतले हार्दा संगठनभित्र अन्तर्घात भएको आरोप लाग्यो।
नेताहरूका अनुसार समिकले यसअघि कारबाही गरेको उज्वल खड्कालाई मत हाल्दा संगठनभित्र अन्तर्घात भएको हो। ‘उज्वललाई कारबाही गरिएपछि उनी अखिल सक्नतिर लागे,’ एक नेता भन्छन्, ‘उनी स्ववियुमै उठ्ने निर्णयमा पुगेपछि हामीलाई कठिन भयो।’
उज्वललाई अखिलको सुदूरपश्चिम क्षेत्रको मत गएकाले सिद्धान्तको हार भएको संगठनको निष्कर्ष छ। उज्वलले उम्मेदवारी दिएपछि संगठनमा फर्काउने प्रयत्न पनि गरिएको थियो। तर सफल भएन। संगठनका अध्यक्ष बडालले गरेको कारबाहीका कारण चुनाव हारेको बुझाइ थियो। यता बडालले पदाधिकारीले असहयोग गरेको आरोप लगाएका थिए।
उमेर हद : ३० कि ३२ मा विवाद
अहिले उमेर हद लाग्ने–नलाग्ने निश्चित छैन। ओलीले जे निर्देशन दिन्छन्, त्यहीअनुसार अघि बढ्ने तयारी रहेको विद्यार्थी नेताहरू बताउँछन्। उमेर हद लागेमा पनि दुई किसिमको उमेर समूहको कुरा उठिरहेको नेताहरू सुनाउँछन्।
नेताहरूका अनुसार उमेर हद ३२ वा उमेर हद लागेमा संगठनका हालका पदाधिकारीमध्येबाट आरती भट्टराई, अञ्जना शिवाकोटी, डा.सुजन कडरियालगायतका नेताहरू अध्यक्षका आकांक्षी हुन्छन्। स्रोतका अनुसार ३० लागेमा ३० को लागेमा कमल जोशी वा विकास श्रेष्ठसम्म पुग्छ।
अहिलेका नेताहरू संगठनको स्थायी कमिटीबाट नेतृत्व चयन हुनुपर्ने अडानमा छन्। पूर्वअध्यक्ष ऐन महरहरू कमल जोशीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् भने नरेश रोकायहरू विकास श्रेष्ठलाई बनाउने पक्षमा छन्। यदि उमेर हद ३० लागेको खण्डमा यी नेताहरू सतहमा आउने जनाइएको छ। संगठनका सचिव कडरिया भने कसैले व्यक्ति बोकेर निर्णय लिने भन्दा पनि पार्टीले निर्णय लिनुपर्ने दाबी गर्दै आएका छन्।