
इटहरी- सुनसरी र मोरङमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो। कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१० मा नम्बर नभएको ईभी स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
इटहरीबाट विराटनगरतर्फ गुडिरहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परेर ईभी स्कुटरका चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका चालकलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्।
अन्दाजी ३० वर्षीय मृतकको पहिचान खुलेको छैन। स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैगरी मोरङमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। कानेपोखरी गाउँपालिका-७ मा को १ ख ७४८२ नम्बरको गोरखा यातायातको यात्रुवाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि रहेका उदयपुरको बेलका नगरपालिका-४ की करिब ५५ वर्षीया कुमारी आचार्य छन्। घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनको विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मृतक र घाइते दिदीभाइ हुन्। बस चालक झापा कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।