शिक्षकका मागमा सरकार गम्भीर, १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय

हिमाल प्रेस २ वैशाख २०८२ २३:२४ | Tuesday, April 15, 2025
शिक्षकका मागमा सरकार गम्भीर, १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्को मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ– सरकारले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले वैशाख १२ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिएकी हुन्।

उनका अनुसार विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि संसद्को बर्खे अधिवेशन केही चाँडो आह्वान गर्ने निर्णय भएको हो।

‘संघीय संसद्‌मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने’, मन्त्री भट्टराईले भनेकी छन्।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्न सरकार संवेदनशील रहेको बताइन्।

‘नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर छ। यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ’, मन्त्रिपरिषद् बैठकका निर्णयबारे मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।’

विद्यार्थी भर्नाको समयमा शिक्षकहरू एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत बहिष्कार गरी हडतालमा उत्रिएका छन्।

प्रकाशित: २ वैशाख २०८२ २३:२४ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast