मुस्ताङमा प्रहरीले गर्‍यो ८९४ केजी शालिग्राम बरामद

हिमाल प्रेस १ वैशाख २०८२ ९:५८ | Monday, April 14, 2025
मुस्ताङमा प्रहरीले गर्‍यो ८९४ केजी शालिग्राम बरामद

मुस्ताङ- नेपाल प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ। जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नं को बोलेरो जिपलाई शंका लागि जाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जिपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ। अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जिप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ।

एक्याप जोमसोमले शालिग्राम शिलासहित जिप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।

जिल्लाको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दु धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ। व्यावासायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ। व्यक्तिगत रुपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ।

जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ। जिल्लामा आउने वार्षिक पाँच लाख भक्तजनले एक/एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ। यहाँको कागबेनी, मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन्।

प्रकाशित: १ वैशाख २०८२ ९:५८ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast