
काठमाडौँ- पर्साको वीरगन्जमा शनिबार दुई समुदायबीच झडप भएको छ। हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई समुदायबीच झडप भएको हो।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको बताए।
झडप नियन्त्रणमा लिन प्रहरीले २० देखि २५ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको उनले जानकारी दिए। हनुमान जयन्तीको अवसरमा निकालिएको यात्रामा अर्को पक्षले ढुंगा हानेको यात्राका सहभागीले आरोप लगाएको एसपी मिश्रले बताए।
‘हनुमान जयन्तीको अवसरमा निकालिएको यात्रामा १२ देखि १४ हजारको संख्यामा श्रद्धालुहरू सहभागी थिए। यात्रा छपकैयामा पुग्दा अर्को पक्षले ढुंगा हानेको उहाँहरूको आरोप छ,’ मिश्रले हिमालप्रेससँग भने,‘दुवै पक्षबीच ढुंगाहान भएको छ। स्थिति तनावग्रस्त छ, हामी नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ।’
झडपका क्रममा केही पसलमा आगजनीसमेत भएको बताइएको छ। झडपमा परी केही स्थानीय र प्रहरी घाइते भएका छन्। झडपमा परेर एक जना प्रहरी निरीक्षक घाइते भएको बताउँदै एसपी मिश्रले थप जानकारी आउन बाँकी रहेको उल्लेख गरे।