वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा कांग्रेस निकट भुवनसिंह गुरुङ विजयी, पदाधिकारीमा पनि उनकै प्यानलको बर्चस्व

हिमाल प्रेस ३० चैत २०८१ ९:०३
36
SHARES
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा कांग्रेस निकट भुवनसिंह गुरुङ विजयी, पदाधिकारीमा पनि उनकै प्यानलको बर्चस्व

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार बनेका भुवनसिंह गुरुङलाई निर्वाचित भएका छन्।

काठमाडौँमा सम्पन्न संघको ३० र ३१ औँ साधारणसभाले अध्यक्षमा गुरुङले निकट प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतले हराउँदै विजयी बने।

संघको निर्वाचनमा गुरुङले ४२८ मत प्राप्त गर्दा भने प्रतिष्पर्धी गेलालले ३६७ मत मात्र ल्याए। निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक हुन्।

संघको निर्वाचनबाट गेलाल समूहबाट उम्मेदवार बनेका दुई जना मात्र विजयी भए। गेलाल समूहबाट संघका पूर्व महासचिव एवं मञ्चका पूर्व महासचिव सुजित कुमार श्रेष्ठ (३७५ मत) प्रथम उपाध्यक्षमा विजयी भए।

श्रेष्ठले प्रथम उपाध्यक्ष पदका अर्का उम्मेदवार नोकरी नेपाल प्रालिका सन्चालक नरेन्द्रप्रसाद ढकाललाई ७३ मतको मतान्तरले पराजित गरेका हुन्। सोही पदमा प्रतिश्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत ल्याए।

संघको द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रा लिका सन्चालक देवकुमार खोखालीले ४०२ मतसहित विजयी बन्दा उनका प्रतिद्वन्द्वी गेलाल प्यानलका मधुकर रिजालले ३७८ मत प्राप्त गरे।

तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मतसहित विजयी बने। पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सन्चालक हर्कबहादुर लिम्बूले ३५० मतप्राप्त गरे। महासचिव पदमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सन्चालक महेशकुमार बस्नेत ४२३ मतप्राप्त गरि विजयी भए।

उनका प्रतिद्वन्द्वी गेलाल प्यानलका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे। कुन्छा दोर्जे डिङ्दोङ ३७४ मत ल्याएर सचिवमा विजयी भए। पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ३११ मत पाउँदा स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत ल्याए। सचिवमा विजयी उम्मेदवार बोगटी नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चका हुन्।

कोषाध्यक्ष पदमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ मत पाइन् भने पराजित गुरूङ समूहका उम्मेद्वार शुभ हारती म्यानपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठले ३५७ मत प्राप्त गरे।

संघको कार्यसमिति सदस्य पदमा रिजा ओभरसिज प्रालिकी सन्चालिका रेखा शर्मा (४४७ मत), इगल मेनपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले (४४२ मत), युनिभर्सल एचआर सोलुसन प्रा लिका सन्चालक भरत सापकोटाले (४३५ मत), राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले (४२७ मत), रसुवा ओभरसिज प्रालिका सन्चालक सुवर्ण लामाले (४०९ मत), विनर एचआर शोलुशन प्रालिकी सञ्चालिका हिमा गुरूङले (३४९ मत), रियो ओभरसिज प्रालिकी सञ्चालिका रमा खड्काले (३८८ मत) ल्याएर विजयी बने।

हिमालयन भ्याली नेपाल प्रालिका सन्चालक देवीप्रसाद गिरीले ३७७ मत, इम्पेरियल ओभरसिज प्रालिकी सन्चालिका विद्यालक्ष्मी बज्राचार्यले ३५३ मत र सेक्युर नेपाल जब प्रालिका सन्चालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरी विजयी बने। कार्यसमिति सदस्यहरुमा विजयी सबै उम्मेदवार गुरुङ पक्षबाटै उम्मेदवार बनेकाहरु हुन्।

संघको शुक्रबार सम्पन्न साधारण सभापछिको निर्वाचनमा कुल मतदाताको ९१ प्रतिशतभन्दा बढी मतदान भएको थियो। संघको निर्वाचनका लागि ८९३ प्रतिनिधि सूचीकृत भएकोमा ८१३ जना व्यावसायीले मतदानमा भाग लिएका थिए।

शुक्रबार दिउँसो साढे ४ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजेसम्म सम्पन्न भई मतगणना सुरु भएको थियो। संघको नयाँ कार्यसमितिको लागि दुई प्यानलका ३४ र स्वतन्त्र २ जना गरी कुल ३६ जनाले उम्मेदवारी दिएका थिए। २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित भएका छन् भने ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।

यो पटकको संघको निर्वाचनमा निर्वाचित कांग्रेस निकट गुरुङको पक्षलाई नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चबाट समर्थन रहेको थियो।

उता अध्यक्षका अर्का उम्मेदवार नरेश गेलाललाई भने एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यवसायी समूहबाट समर्थन रहेको थियो। गेलाल एचआर इन्टरनेसनल सर्भिस प्रालिका सन्चालक हुन् भने पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष समेत हुन्।

प्रकाशित: ३० चैत २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast