संविधानको अपव्याख्या गर्दै राष्ट्रपतिमा ह्याट्रिक गर्ने दाउमा भण्डारी!

चन्द्रशेखर अधिकारी २४ पुष २०७९ २१:५०
412
SHARES
संविधानको अपव्याख्या गर्दै राष्ट्रपतिमा ह्याट्रिक गर्ने दाउमा भण्डारी!

काठमाडौँ– संविधानको अपव्याख्या गर्दै नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै तेहर्‍याउने तयारी गरेको छ। राष्ट्रपति बन्न इच्छुक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्बाङलाई चुप लगाउने हेतुले अध्यक्ष केपी शर्मा ओलीले पुनः भण्डारीलाई अघि सारेका हुन्। यस विषयमा ओलीले छलफलसमेत सुरु गरिसकेका छन्।

राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो। संविधानअनुसार तेस्रो पटक राष्ट्रपति बन्न मिल्दैन। तर संविधानमा भएको व्यवस्थालाई फरक व्याख्या गर्दै भण्डारीलाई नै पुनः उम्मेदवार बनाउने तयारी एमालेले गरिरहेको छ।

०७४ साल फागुन-चैतमा भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचनाअनुसार संसद् गठन भएपछिको पहिलो निर्वाचन भएकाले भण्डारी अझ एक कार्यकाल राष्ट्रपति बन्नसक्ने एमालेको निचोड छ।

गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचनबाट दोस्रो पटक राष्ट्रपतिको रूपमा चयन भएकी भण्डारी आफैँ पनि फेरि एकपल्ट राष्ट्रपति बन्न चाहन्छिन्। नयाँ संविधान जारी भएपछि पहिलो राष्ट्रपति भएकाले अबको आफ्नो कार्यकाल दोस्रो हुने भन्दै उनले एमाले अध्यक्ष ओलीलाई सन्देश पठाएकी हुन्।

पार्टीभित्र कुरा मिलेमा आफू फेरि राष्ट्रपति बन्न चाहेको भण्डारीको सन्देश पाएपछि ओलीले पार्टीभित्र छलफल सुरु गरेका हुन्। भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा ओलीलाई एमालेभित्र एक समूहले पनि साथ दिएको छ। केही कानुनविद्सँग छलफल गरेपछि त्यस समूहका नेताहरू हौसिएको बताइन्छ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेको सहयोगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै दिनदेखि भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन छलफल सुरु गरिएको हो। राष्ट्रपतिको निर्वाचन मिति पछाडि धकेल्ने र भण्डारीको अहिलेको कार्यकाल सकिन केही दिन बाँकी रहँदा मात्र निर्वाचन गराउने एमालेको योजना छ। त्यस निर्वाचनमा भण्डारीलाई साझा उम्मेदवार बनाउने तयारी एमालेको छ।

राष्ट्रपति बन्न इच्छुक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्बाङलाई चुप लगाउने हेतुले अध्यक्ष केपी शर्मा ओलीले पुनः भण्डारीलाई अघि सारेका हुन्।

संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने भनिएको छ। उनी यसअघि संक्रमणकालीन रूपमा डेढवर्ष राष्ट्रपति भएकी हुन्। उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्का निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिमको कार्य सम्पादन गर्नेछ। त्यसो हुँदा हरेक पाँचवर्ष एक महिना मुलुकले नयाँ राष्ट्रपति पाउने देखिन्छ। सोही कारण निर्वाचन आयोगले राष्ट्रपतिको कार्यभार सकिन केही दिन बाँकी हुँदा मात्र र्विाचन गर्नेछ।

संविधानको धारा ६४ को (२)अनुसार अन्य धारमा जे लेखिएको भएता पनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन भनेर स्पष्ट पारेको छ। जति कार्यकाल जे भनिए पनि दुई पटक निर्वाचित भएको व्यक्ति तेस्रो पटक निर्वाचनको लागि नै योग्य नहुने उल्लेख छ।

संविधानमा भएको व्यवस्थाको अपव्याख्या गरेर भण्डारीलाई उम्मेदवार बनाउन भइरहेका तयारीबारे एमालेका नेताहरूले मुख खोलेका छैनन्। यद्यपि छलफल र तयारी ओलीकै इच्छा र योजनाअनुसार भइरहेको छ। राष्ट्रपतिबारे ओली अझै केही बोलेका छैनन्।

राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव एवम् कानुनविद् डा. भेषराज अधिकारी भने भण्डारी शीतल निवासमा रहिरहने भन्दा त्यहाँबाट बाहिर निस्कने तयारीमा रहेको बताउँछन्। ‘एमाले र सत्तागठबन्धनभित्र सहमति भए, संविधानले दिए फरक कुरा अन्यथा राष्ट्रपति फेरि आफू नै राष्ट्रपतिको उम्मेदवार बन्ने पक्षमा हुनुहुन्न,’ अधिकारीले भने।

भण्डारीको पछिल्लो कार्यकाल पहिलो कार्यकाल भएको अधिकारीको जिकिर छ। पछिल्लो पटक राष्ट्रपतिमा निर्वाचित हुँदा मात्रै भण्डारीले दुवै सदनबाट मत पाएकाले पनि यस्तो जिकिर गरिएको हो। ‘खासमा यो पहिलो कार्यकाल नै हो। अघिल्लोलाई कार्यकाल संविधान जारी भएलगत्तैको हो। नयाँ संविधान, नयाँ व्यवस्था लागू भएपछि उहाँसँग दोस्रो पटक राष्ट्रपति बन्ने विकल्प हुनसक्छ तर यो विषयमा कानुनविद्सँग गहन छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’अधिकारीको भनाइ थियो।

अधिकारी एमाले वा सत्तागठबन्धनभित्र के छलफल भएको छ त्यसबारे शीतल निवास जानकार नभएको बताउँछन्। यद्यपि शीतल निवास पछिल्लो समय एमालेभित्र सहमति जुटाउन सक्रिय छ। कतिसम्म भन्ने राष्ट्रपति भण्डारी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मिलाउन पनि लागि परेकी छन्। उनले बारम्बार आफ्ना ‘दूत’हरूलाई नेपालसँग भेट्न पठाइरहेकी छन्। दाहाल नेतृत्वको सरकार गठनका लागि पनि भण्डारीले भूमिका खेलेको बताइन्छ।

फागुन २९ अघि नै हामी अर्को राष्ट्रपति दिन्छौँ: थपलिया

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि ०७४ साल फागुनमा निर्वाचन भयो। यसपटक पनि त्यही निकट रहेर निर्वाचन आयोगले सरकारलाई जानकारी दिएको छ। ‘अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हतारो भइनसकेको र हाम्रो आफ्नो तालिका सरकालाई जानकारी गराएका छौँ,’प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

एक महिनाअघि गर्नुभन्दा केही दिन अघि गरेर राष्ट्रपति दोहोरो रहने अवस्था श्रृजना नगर्ने थपलियाले बताए। ‘ऐनमा स्पष्ट नभएकाले पनि तयसलाई संविधान त अघि बढाउने छौँ,’ उनले भने। आयोगले राष्ट्रपति पदको निर्वाचन तथा कार्यतालिका तय गर्न बाँकी भए पनि अहिले नै के गर्ने र कसरी गर्ने अनि कहिले गर्ने जानकारी सरकालाई दिइसकेको छ। ‘कार्यकाल सकिनु एक महिनाअघि नै निर्वाचन गर्नपर्छ भन्ने छैन,’ उनले भने।

०७४ साल फागुन २९ मा राष्ट्रपति र चैत ९ मा उपराष्ट्रपति पदको निर्वाचन भएको थियो। सोहीअनुरूप आगामी फागुन २८ भित्र निर्वाचन आयोगले निर्वाचन गराए हुन्छ। आयोगले अहिले पनि राष्ट्रपति र उपराष्ट्रपतिको प्रयोजनका लागि मतदाता नामावली तयार पार्ने र सरकालाई जानकारी दिने काम गरिरहेको छ। यद्यपि आयोगले बाहिर यी विषय नबोल्दा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा आयोग चुपचाप रहको दखिन्छ।

दुई पटक निर्वाचित राष्ट्रपति पुनः तेहरिन आउने विषयले आयोग झनै चिनिन्त बनेको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले वर्तमान राष्ट्रपति पुनः उम्मेदवार हुनै नमिल्ने बताए। जे-जसरी भए पनि दुईपटक निर्वाचित राष्ट्रपति पुनः निर्वाचनमा आउँछु भन्नु आफैंमा गलत रहेको थपलियाले बताए।

जे-जसरी भए पनि दुईपटक निर्वाचित राष्ट्रपति पुनः निर्वाचनमा आउँछु भन्नु आफैंमा गलत रहेको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलिया बताउँछन्।

नेकपा एमालेका उपमहासचिवसमेत रहेको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई कार्यकाल भएको नभएको व्याख्या गर्ने काम त अदालतको हो तर दुई कार्यकाल निर्वाचित भइसकेको हुनाले त्यहीखाले नै व्याख्या हुनसक्ने बताए। ‘कानुन स्पष्ट नहुँदा र बुँदा बाझिँदा त्यसलाई स्पष्ट पार्ने काम संसदकै हो,’ ज्ञवालीले भने,‘अदालतले उपलब्ध डकुमेन्ट हेरेर त्यसको व्याख्या गर्ने हो।’

संविधानमा केही विवादित विषय भए त्यसलाई सुधार गर्न मिल्ने उनले बताए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली, २०७४ बमोजिम संघीय संसद् सचिवालय र सात वटै प्रदेशसभाका सचिवालयबाट सदस्यहरूको नामावली आयोगले माग गर्ने र संघीय संसद् सचिवालयबाट प्रतिनिधि सभाका २७५ जना सांसद र राष्ट्रियसभाका ५६ जना सांसदको नामसँगै सात प्रदेशसभाबाट कूल ५ सय ५० जना सदस्यको नामावली लिएर निर्वाचन गर्ने हो।

राष्ट्रपति भण्डारी कुमारी लक्ष्मी राईलाई हराएर पछिल्लो पटक निर्वाचित भएकी हुन। त्यसअघि उनले नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई हराएर राष्ट्रपति भएकी थिइन। उनको अघिल्लो राष्ट्रपतीय कार्यकालमा राष्ट्रियसभा नभएको र प्रदेशसभाको पनि उपस्थिति नरहेको भन्दै प्रतिनिधिसभाबाट डेढवर्ष संक्रमणकालीन अवस्थामा भएको भन्ने तर्क छ। यो तर्कमा कानुनविदहरू अध्ययन गरेर मात्र भन्न सक्ने बताउँछन्।

प्रकाशित: २४ पुष २०७९ २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast