डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशहरूबाट आयातमा लगाइएको शुल्कबाट पछि नहट्ने बताएका छन्। उनले ती देशले अमेरिकासँगको आफ्नो व्यापारलाई बराबरीमा नल्याएसम्म आयात शुल्क नघटाउने बताएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।
ट्रम्पले आफ्नो योजना अझ बलियो बनाएर कर लागू गर्ने संकल्प दोहोर्याएका छन्। उनको यस्तो अभिव्यक्तिले वित्तीय बजार हल्लाएको छ, मन्दीको डर बढाएको छ र विश्वव्यापी व्यापार प्रणालीमा उथलपुथल बनाएको छ।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, ‘कहिलेकाहीँ चिजहरू ठिक गर्न औषधि लिनुपर्छ।’ उनले अब रोजगारी र लगानी अमेरिकामा फर्किने दाबी गरे। त्यसपछि अमेरिका ‘पहिले कहिल्यै नभएको धनी’ बन्ने बताए।
ट्रम्पको टिप्पणीको केही घण्टापछि विश्व सेयर बजारमा मन्दी आएको छ। चीन, जापान, हङकङका बजारहरू खस्किएका छन्। यसैगरी अमेरिका, साउदी अरेबियाको स्टक एक्सचेन्ज सूचकांक घटेको छ।




