
काठमाडौँ- सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले कडा जवाफ दिएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षक आन्दोलनलाई समर्थन गरेपछि शंकर पोखरेलले प्रतिक्रिया जनाएका थिए। अधिकारीले पोखरेलको भनाइको आलोचना गर्दै भने, ‘प्रचण्डले समर्थन गर्नु अपराध हो? प्रमुख प्रतिपक्षीले समर्थन गर्दा त खुसी हुनुपर्ने, धन्यवाद दिनुपर्ने तर आतंक किन?’
अधिकारीका अनुसार शिक्षक महासंघको आन्दोलनमा नेपाली कांग्रेसका नेता शेखर कोइराला, चन्द्र भण्डारी, ऐन महर, ट्रेड युनियन कांग्रेसका अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत विभिन्न राजनीतिक दलहरू, शिक्षाविद्हरूसम्मको समर्थन रहेको छ।
उनले भने, ‘प्रचण्डको समर्थनले आन्दोलनलाई थप बल र समृद्धि प्रदान गरेको छ र त्यसको विरोध गर्नुको कुनै अर्थ छैन।’
साथै, अधिकारीले काठमाडौँमा जारी शिक्षक कर्मचारी आन्दोलनलाई कुनै राजनीतिक गन्ध नहुने केवल शैक्षिक र पेसागत आन्दोलन भएको उल्लेख गर्दै आन्दोलनको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे। अधिकारीले भने, ‘यो आन्दोलनमा १५ घटक एकताबद्ध छ र यसको उद्देश्य शिक्षा ऐन, शिक्षासम्बन्धी सुधार हो न कि कुनै राजनीतिक खेल।’
प्रचण्डले भने- शिक्षकलाई नथिच, विशेष अधिवेशन बोलाएर ऐन ल्याऊ