
काठमाडौँ– गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको छ।
आइतबार काठमाडौँको शान्तिबाटीकामा सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो। यस क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए। २४० बर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको उनले बताए।
उनले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टी देखिएको बताए। केसीले गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारवाही भएको जिकिर गरे।
उनले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्न सकिने बताए। चैत्र ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने जनमोर्चाले जनाएको छ।