लुम्बिनी अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्र : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस १५ चैत २०८१ १७:३४
10
SHARES
लुम्बिनी अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्र : पूर्वराष्ट्रपति भण्डारी द्धजन्मस्थल लुम्बिनीमा थुक्छे छोइलिङ गुम्बाको शुक्रबार शिलान्यास समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : हिमालप्रेस

लुम्बिनी- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनीबाट बुद्धको शिक्षामार्फत शान्ति, अहिंसा र अध्यात्मको सन्देश फैलाउनुपर्ने बताएकी छन्। बुद्धजन्मस्थल लुम्बिनीमा थुक्छे छोइलिङ गुम्बाको शुक्रबार शिलान्यास समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले लुम्बिनी क्रमिक रुपमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र बन्दै गएको बताउँदै लुम्बिनीबाटै शान्तिको सन्देश दिनुपर्नेमा जोड दिइन्। भण्डारीले विश्वका विकसित र शक्तिशाली देशहरुमा अझै पनि गोलाबारुद, हिंसा र तनावको अवस्था रहेको बताउँदै बुद्धको शिक्षाले शान्तिको मार्गमा हिँडाउने बताइन्।

‘इसापूर्व ६२३मा लुम्बिनीमा जन्मिनुभएका बुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो, उहाँको शिक्षाले संसारभरका करोडौँ मानिसलाई प्रररित गरिरहेको छ’, पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘तर आज पनि विकसित र शक्तिशाली देशहरुको टकरावका कारण सर्वसाधारण गोलाबारुद, हिंसा र तनावपूर्ण जीवन जिउनुपर्ने अवस्था कायमै छ।’

पूर्वराष्ट्रपति भण्डारीले लुम्बिनीको धार्मिक र सांस्कृतिक पहिचान बोकेको महान् सम्पदाको संरक्षण, प्रवर्धनन र प्रचारप्रसारका लागि समेत अपिल गरिन्। उनले लुम्बिनीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्त्व रहेको भूमिमा पाइला टेक्दा आनन्द प्राप्त भएको बताउँदै थुक्छे छोइलिङ गुम्बाले बुद्धको सन्देश विश्वभर फैलाउनेमा विश्वास व्यक्त गरिन्।

गुम्बाले लुम्बिनीको धार्मिक तथा आध्यात्मिक गरिमा बढाउँदै संसारभरिका बौद्धमार्गी र पर्यटकहरुलाई आकर्षित गर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड थियो। उनले लुम्बिनीमा बौद्ध विश्व विद्यालयसमेत रहेकाले लुम्बिनी बौद्ध शिक्षा र दर्शनको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन्। ‘विश्वविद्यालयमार्फत विश्वभर शान्ति र अध्यात्मको सन्देश फैलाउन सकिन्छ’, उनले भनिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुम्बाहरुले बुद्धका उपदेशलाई विश्वभर फैलाउन महत्त्वपूर्ण योगदान गर्ने बताए। उनले शिलान्यास गरिएको गुम्बालाई समयमै सम्पन्न गर्न सुझाव दिँदै बुद्धको सन्देशलाई विश्वभर फैलाउने कार्यमा गुम्बाको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

उनले लुम्बिनी गुरुयोजना भित्र कतिपयले जग्गा ओगट्ने तर गुम्बाको काम नगर्ने गरेको पाइएकोले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गरे। यस्तै रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले बुद्धको ज्ञान, करुणा, अहिंसा र शान्तिको सन्देश विश्वभर फैलाउन भूमिका खेल्ने बताए।

उनले लुम्बिनी विश्वभरका शान्तिप्रेमी र बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले बुद्धका सन्देशलाई विश्वव्यापी बनाउँदै यहाँको विकास गर्नुपर्ने बताए। उनले आफू विश्वसम्पदा स्थल लुम्बिनी क्षेत्रको जनप्रतिनिधि समेत भएकाले स्थानीयहरूलाई लुम्बिनी विकास कोषले जोड्न नसकेको बताए। उनले लुम्बिनी विकास कोष ऐनले स्थानीय जनप्रतिनिधिलाई चन्न नसकेकाले आगामी दिनमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए।

यसैगरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनाअनुसार ४२ वटा प्लटमा विभिन्न बौद्ध सम्प्रदायका लागि गुम्बा बनाउन दिइएको बताए। उनले सोही गुरुयोजनाअनुसार थुक्छे छोइलिङ गुम्बाको शिलान्यास भएको बताए।

उनले गुरुयोजना सम्पन्न हुन लागिरहेको अवस्थामा कतिपयले जग्गा ओगटेर विदेशमा चन्दा संकलन समेत गर्ने गरेको बताउँदै अब त्यसरी जग्गा मात्रै ओगट्ने परिपाटीको अन्त्य गर्न थालेको बताए। शिलान्यास समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, थुक्छे छोइलिङ गुम्बा धर्मचक्र महाविहारका अध्यक्ष छिरिङ जाङबू तामाङलगायतले बोलेका थिए।

लुम्बिनी गुरुयोजना क्षेत्रको पश्चिम खण्डको डब्लु १४ नम्बरको प्लटमा गुम्बा शिलान्यास गरिएको हो। हिमाली बौद्ध गुम्बाको आकारको गुम्बा तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनाअनुसार शिलान्यास गरिएको महासचिव बाबुराजा श्रेष्ठले बताए।

शिलान्यास समारोहमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीलगायतको उपस्थिति थियो।

प्रकाशित: १५ चैत २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast