दुवै सदनको बैठक बस्दै, संसद् चल्न नदिने विपक्षीको योजना

हिमाल प्रेस १४ चैत २०८१ ६:४० | Thursday, March 27, 2025
दुवै सदनको बैठक बस्दै, संसद् चल्न नदिने विपक्षीको योजना फाइल तस्बिर

काठमाडौँ- संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जबाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधिसभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रियसभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ।

विशेष गरी कुलमानलाई हटाएकोमा माओवादी केन्द्र आक्रोशित छ। कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जबाफ नआएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले संसद्‌मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको चेतावनी छ।

संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्‌बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्।

युवा संघ नेपालले काठमाडौँमा गरेको भेलामा प्रधानमन्त्री ओलीले घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनाप्रति कटाक्ष गर्दै संसद्‌मा जवाफ दिन आवश्यक नरहेको बताए। एउटा हटाएर अर्को नियुक्ति गर्नु नै जवाफ भएको उनको भनाइ छ।

प्रधानमन्त्रीले ओलीले विपक्षीलाई सस्तो, हल्का र उत्ताउलो नहुन तथा प्रधानमन्त्रीका विषयमा जथाभाबी नबोल्न चेतावनी दिए। चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थालाई रोक्न विपक्षीले सदन अवरोध गरेको प्रधानमन्त्री ओलीको आरोप छ।

प्रकाशित: १४ चैत २०८१ ६:४० | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast