अगाडि बढ्यो जनमत र नाउपाको एकीकरण प्रक्रिया, चाँडै मूर्त रूप दिने तयारी

हिमाल प्रेस १० चैत २०८१ २१:३३ | Sunday, March 23, 2025
अगाडि बढ्यो जनमत र नाउपाको एकीकरण प्रक्रिया, चाँडै मूर्त रूप दिने तयारी जनमत पार्टी र नाउपाको कार्यदलको बैठक।

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता प्रक्रिया अगाडि बढेको छ। दुवै दलका कार्यदलको बैठक बसेर एकता प्रक्रियालाई अगाडि बढाएको हो।

पार्टी एकताका लागि दुवै दलले बनाएको कार्यदलको बैठक आइतबार साँझ बसेको हो। पार्टी पुनर्संरचनाका विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक बसेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

कार्यदलमा जनमत पार्टीका तर्फबाट अब्दुल खान, प्रवक्ता यादव र बालगोविन्द चौधरी छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कार्यदलमा गंगाराम चौधरी,, सुनिता चौधरी र रामलाल डंगौरा छन्।

नागरिक उन्मुक्ति पार्टीको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी एकीकरण गरेर राष्ट्रिय शक्ति बनाउने उद्घोष गरेका थिए।

दुवै पार्टीबीच केही दिनअघि सुरू भएको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्। शीर्ष नेता र कार्यदलको बैठकबाट चाँडै एकीकरण प्रक्रियालाई मूर्त रूप दिने तयारी दुवै दलले गरेका छन्।

पार्टीको नाम, चुनाव चिह्न, नेताहरूको जिम्मेवारी, आगामी कार्यदिशालगायतका विषय टुंग्याएर चाँडै एकीकरणको घोषणा हुने नेताहरूको भनाइ छ।

प्रकाशित: १० चैत २०८१ २१:३३ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast