कांग्रेसले भन्यो – गणतान्त्रिक मोर्चा जरूरी छैन, सडक आन्दोलन गर्दैनौँ

हिमाल प्रेस १० चैत २०८१ २१:१०
74
SHARES
कांग्रेसले भन्यो – गणतान्त्रिक मोर्चा जरूरी छैन, सडक आन्दोलन गर्दैनौँ फाइइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले संघीय लोकतान्त्रि गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको बताएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने निर्णय गरेको हो।

‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्णप्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मुलुकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, सामाजिक विकृति, विसंगतिबाट मुक्त बनाउँदै जनताको प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिने कांग्रेसले विश्वास व्यक्त गरेको छ।

‘संविधानको संरक्षण, सम्बद्र्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ,‘यही विश्वासका साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले गणतान्त्रिक मोर्चाको आवश्यकता नरहेको बताए। संविधान निर्माणमा संलग्न र नयाँ दलहरूले समेत प्रतिबद्धता जनाएकाले गणतान्त्रिक मोर्चा आवश्यक नभएको उनको भनाइ छ। महतले कांग्रेस सडकमा प्रदर्शन गर्ने पक्षमा नरहेको बताए।

महाधिवेशन गर्न नसकेका भातृ संस्थाबारे कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ। कांग्रेसले चैतभित्र भातृसंस्थाहरूको महाधिवेशन निर्णय गरेको थियो। तर, नेविसंघ, तरुण दल, महिला संघलगायत अधिकांश भातृ संस्थाले महाधिवेशन गरेका छैनन्।

महाधिवेशन गर्न नसकेका भातृ संस्था भंग गर्ने वा समयअवधि थप्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने भएको छ। केन्द्रीय समितिको बैठक चैतमा बस्न सक्ने बताइएको छ।

जनसम्पर्क समितिमा दुई किसिमका सदस्य

बैठकले पार्टीको विदेशस्थित जनसम्पर्क समितिमा कांग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई किसिमका सदस्य रहने व्यवस्था गरेको कार्यवाहक मुख्यसचिव डा‍. पराजुलीले बताए।

नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएबमोजिम क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णय गरिएको छ। यो व्यवस्थाअनुसार जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई बाधा नपुग्ने निर्णय गरिएको छ।

यस्तै, जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ। यो व्यवस्था लागू हुनुपूर्व क्रियाशील सदस्यता प्राप्त गरेका त्यस्ता नागरिकहरूको हकमा निजहरूले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रूपान्तरित हुनेछ। साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिने निर्णय भएको पराजुलीले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जनाभन्दा बढी तोक्न सक्ने व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन क्रियाशील सदस्यता अनिवार्य कांग्रेसले पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुन अनिवार्य क्रियाशील सदस्य हुनुपर्ने निर्णय गरेको छ।

बैठकले पार्टीको नियमावलीमा आवश्यक संशोधनसमेत गरेको छ। यसैगरी कांग्रेसले यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा धेरै क्याम्पसमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकामा नेपाल विद्यार्थी संघलाई बधाई ज्ञापन गर्दै विजयी सम्पूर्ण विद्यार्थीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ।

पार्टीले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा स्थानीय दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको उल्लेख गर्दै उक्त घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ।

बैठकले नेपाली कांग्रेस (बीपी) को साधारण सदस्यतासमेत परित्याग गरी पार्टीमा समाहित भएका हरिबोल भट्टराई, पुष्पराज पराजुली, गोविन्द शर्मा पौडेललगायत १२ जनालाई पार्टीका विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ।

बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, प्रवक्ता प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १० चैत २०८१ २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast