राजावादीमा विवाद : अब कसरी बढ्ला राजा ल्याउने आन्दोलन?

किरण पौडेल ६ चैत २०८१ २१:४५
20
SHARES
राजावादीमा विवाद : अब कसरी बढ्ला राजा ल्याउने आन्दोलन? फाइल तस्बिर

काठमाडौँ- राजतन्त्रका समर्थक दल र समूहमा विवाद भएपछि सनातन हिन्दु राज्यसहित राजतन्त्र पुनर्स्थापनाका आन्दोलन कमजोर हुने देखिएको छ। पछिल्ला दिनमा केही राजनीतिक दल र समूह राजतन्त्र ब्युँताउनुपर्ने मागसहित आन्दोलनमा छन्। राजतन्त्र समर्थकबीच कसको अगुवाइमा आन्दोलन गर्ने भन्ने विषयमा विवाद देखिएको हो।

राप्रपा, राप्रपा नेपाल, केही पुराना राजनीतिज्ञ र केही धार्मिक संगठनहरू सनातन हिन्दु राज्यसहितको राजतन्त्रका पक्षमा देखिएका छन्। नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका दलभित्र पनि राजतन्त्रका पक्षपाती नरहेका होइनन्। यद्यपि ती दलका केही नेताले राजाका समर्थनमा दिने अभिव्यक्तिमा त्यति दम छैन। साथै राजतन्त्रका पक्षमा निर्णय लिन सक्ने अवस्थामा ती दल छैनन्।

राजावादीहरूले वर्तमान राज्य व्यवस्थामाथि प्रश्न उठाउँदै अभिभावकका रूपमा राजा ल्याउनुपर्ने माग गरेका हुन्। स्वतन्त्र र पुराना राजनीतिज्ञलाई पनि राजाको एजेन्डाले छोएको छ। गणतन्त्र स्थापना भएको १६ वर्ष अवधिमा राजावादीका पक्षमा सडकमा मानिस देखा परेको नयाँ भने होइन। राजावादीका पक्षमा जनमत नभएको दृष्टान्त २०७० यताका संसदीय चुनावमा ती दलसम्बन्ध सांसदहरूको उपस्थितिले पनि देखाउँछ। पछिल्लो समयमा  राजनीतिक दलहरू जनताप्रति आशावादी बन्न नसकेपछि राजावादीहरू सलबलाउन थालेको चर्चा पनि हुने गरेको छ।

राजतन्त्र पुनर्स्थापनाको सम्भावना नदेखिए पनि चियापसल, सामाजिक सञ्जाल र संसद्‌मा समेत राजतन्त्र पुनर्स्थापनाको विषयले चर्चा पाएको छ। सबैको चासोको विषयचाहिँ राजावादीका पक्षमा हुने आन्दोलनको अगुवाइ कसले गर्ला भन्ने छ। राजावादीभित्रै ज्ञानेन्द्र आफैँ सडकमा उत्रनुपर्ने पक्षधर पनि छन्। २०६१ मा दरबारभित्रको शक्ति प्रयोग गरेर लोकतन्त्रको कु गरेका ज्ञानेन्द्र खुला आन्दोलनमा आउने सम्भावना अत्यन्त कमजोर छ।

अगुवा नभएपछि प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशबाट उठेको राजतन्त्रको आवाज एक महिनामै अलमलिएको जानकारहरू बताउँछन्। ज्ञानेन्द्र गत फागुन २५ मा पोखराबाट काठमाडौँ फर्कँदा काठमाडौँमा समर्थकको भीड लागेको थियो। त्यही भीड देखेर हौसिएका राजावादीहरू आफैँ एकजुट हुन नसक्दा उनीहरू अलमलमा परेका हुन्।

स्पष्ट एजेन्डा नभएको अवस्थामा एक दिन राजधानीको सडकमा मान्छे उत्रँदैमा राजतन्त्र फर्कन सक्ने अवस्था पनि देखिँदैन। बिनाअगुवाइ गरिएको आन्दोलनमा केही दिन भीड जम्मा भए पनि बिस्तारै हराउँदै जाने स्वयम् राजावादीहरू नै बताउँछन्।

राजावादीहरू समूहगत तिक्ततामा देखिन थालेका छन् भने नेतृत्वको जस कसले लिनेमा मतभिन्नता छ। पछिल्लो समय राजावादी एक भएर अघि बढ्न नवराज सुवेदीलाई अघि सार्ने निर्णय भएको छ। ज्ञानेन्द्रकै सक्रियतामा यस्तो अभियान थालनी पनि उनी आफैँले कुनै अभिव्यक्ति सार्वजनिक गरेका छैनन्।

विवादको कारण

लामो समय राजाको छात्रछायामा रहेका सुवेदी कमान्डरका रूपमा चुनिएपछि राजावादीमा तिक्तता देखिएको हो। सोमबार सुवेदीको नेतृत्वमा गठित समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंहलगायत सदस्य छन्।

समिति बनेपछि आफूलाई राजावादी समूहको पक्षधर राप्रपा र राप्रपा नेपालमा तिक्ता पुगेको छ। राप्रपाका केही नेता उनीहरूले आफूहरूलाई नसोधी समितिमा नाम राखिएको भन्दै असन्तुष्ट छन्। यसरी असन्तुष्टि जनाउनेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा छन्। उनीहरू सोमबार घोषणा भएको समारोहमा समेत गएनन्। समितिमा रहेका राजेश अहिराज पनि अन्तुष्ट छन्। लामो समयदेखि राजतन्त्रको समर्थन गर्दै आएका केशरबहादुर विष्ट समितिमा नबस्ने भएका छन्।

सुवेदीको सक्रियता

८६ वर्षीय पूर्वपञ्च सुवेदी सबैलाई मिलाउने पक्षमा छन्। पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका उनले राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापालाई समेत भेटेका छन्। ‘उहाँ (सुवेदी) ले सबैलाई भेट्नुभा हो। मिलेर जानुपर्छ भन्ने कुरा भइराछ,’ राप्रपा नेपालका एक नेताले भने, ‘समिति नै बनाउने कुरा भएको छैन।’

राप्रपाका एक पदाधिकारीका अनुसार त राजा फर्काऊ अभियानमा जस लिने होड बढेको छ। ती नेताका अनुसार राप्रपा, राप्रपा नेपालसहित दुर्गा प्रसाईसमेत यसको जस लिने दौडमा छन्। सुवेदीलाई अघि सारेपछि दुई राप्रपाका प्रमुख नेता असन्तुष्ट देखिए पनि अन्य नेता खुसी देखिएका छन्।

लिङ्देन-थापा चाहन्छन् आफ्नै नेतृत्व

लिङ्देन-थापा दुवै आन्दोलनको नेतृत्व लिने होडमा थिए। पछिल्ला दिनमा दुई राप्रपाबीच एकताको कुरा उठ्दासमेत लिङ्देन मौन थिए। उनी आफ्नै नेतृत्वमा आन्दोलन अघि बढाउने पक्षमा थिए।

थापासमेत नेतृत्वको दाबी गर्दै आएका थिए। सुवेदी नेतृत्वमा आएपछि उनीहरूको निष्कर्ष थियो- अब आन्दोलन चल्दैन। राप्रपाका केन्द्रीय सुवेदी लामो समयदेखि मूल राजनीतिबाहिर छन्।

‘हामीलाई समिति बनाउने भन्ने थिएन, कार्यक्रममा छ भनेर डाकियो। उपाध्यक्ष जानुभयो’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने। राप्रपा नेपाल सुवेदीकै नेतृत्वमा आन्दोलनमा जाने भएको छ। थापाले उपाध्यक्ष तारानाथ लुइँटलको नेतृत्वमा सहभागिता जनाउने भएको छ।

राप्रपामा समेत यही विषयमा छलफल भयो। राप्रपाको कार्यसम्पादन समितिमा राप्रपाकै नेतृत्वमा आन्दोलनमा जाने छलफल भएको थियो। सुवेदीले भने आन्दोलनको नेतृत्व लिए भने राप्रपा छाडेको घोषणा गरे। ‘म अब दलको रहन्न। म साझा बन्नका लागि राप्रपाको साधारण सदस्यबाट समेत राजीनामा दिएको छुँ’, सुवेदीले समिति घोषणासभामा भनेका छन्।

धवल र प्रसाई खुसी

राजावादी आन्दोलनको घोषणापछि राप्रपामा थप विवाद चर्किएको छ। राप्रपाका इतर पक्ष भनेर चिनिने धवलशमशेर जबरा, रवीन्द्र मिश्रसहितका नेताले सुवेदीकै नेतृत्व स्वीकार्न सकिने जिकिर गरेका छन्। राप्रपाका आन्दोलनका कमान्डरसमेत रहेका राणा नेतृत्वमा परिचालन समितिको संयोजक बनाएका छन्। सुवेदी नेतृत्वको समितिको सदस्य सचिवमा मिश्र चुनिएका छन्।

‘सुवेदीलाई अघि सार्न मिश्र-राणाको समेत हात छ,’ राप्रपाका अर्का एक नेता भन्छन्, ‘राजाको समेत सहमति पाएपछि धवल दाइले समर्थन जनाउनुभएको हो। राजेन्द्र दाइले गलत बुझ्नुहुन्न भन्ने लागेको छ।’ ती नेताका अनुसार ज्ञानेन्द्रले राजेन्द्रलाई कमान्डर घोषणा गरे आफूहरू कमजोर हुने शंका थियो। तर अर्का नेता अघि बढेपछि धवल समूह खुसी देखिएको छ।

यसअघिको राप्रपा सम्पादन बैठकमा समेत राणा-लिङ्देनबीच विवाद देखिएको थियो। हिजो बसेको राप्रपा कार्यसमितिको बैठकले पनि लिङ्देनकै नेतृत्वमा आन्दोलनमा होमिने भएको छ। राप्रपा स्रोतका अनुसार सुवेदीको नेतृत्वमा आन्दोलनमा नजाने तर लिङ्देन आफ्नै नेतृत्वमा आन्दोलन गर्ने भएका छन्।

राणा समूह आन्दोलनमा जसरी पनि जानुपर्नेमा थियो भने लिङ्देन आफ्नै नेतृत्वमा मात्र जाने पक्षमा देखिएका छन्। कतिपयले राप्रपाको आगामी महाधिवेशन हेरेर राणा-लिङ्देन राजनीतिमा लागेको बताइरहेका छन्। आगामी महाधिवेशनमा लिङ्देन अध्यक्ष दोहोर्‍याउन चाहन्छन् भने राणा रोक्दै आफू बन्न चाहन्छन्।

विगतबाटै यो दुई समूहमा विवाद छ। मिश्र र अर्की महामन्त्री कुन्ती शाहीसमेत राणाका पक्षमा छिन् भने महामन्त्री राजेन्द्र गुरुङसहितका नेता लिङ्देन पक्षधर हुन्। लिङ्देन अहिले पनि सुवेदीको नेतृत्वमा आन्दोलनमा नजाने भएका छन्। उनी राप्रपालाई छुट्टै आन्दोलनमा लैजादैछन्। राणा सुवेदीकै नेतृत्वमा आन्दोलन जाँदैछन्। उनले एक कार्यक्रममा भनेका छन्, ‘पार्टीले भन्दैमा म र रवीन्द्र मिश्रजी नवराज सुवेदीको नेतृत्वमा बनेको समितिबाट ब्याक हुँदैनौं।’ उनी अहिले पनि सुवेदीको नेतृत्वको आन्दोलनमा होमिने अडानमा छन्।

‘सुवेदी नेतृत्वको समितिले नै राजा ल्याउन आन्दोलन गर्छ। हामी त्यसैमा एकत्रित हुनुपर्छ,’ राणाले भने,‘ नवराज सुवेदीले नै राजसंस्था फर्काउने आन्दोलनको अगुवाइ गर्ने हो।’ यसरी राप्रपामा विवाद चर्किँदै गर्दा अर्का राजावादी अभियन्ता दुर्गा प्रसाई भने खुसी देखिएका छन्।

यसअघि राप्रपा-राप्रपा नेपालमाथि विभिन्न आरोप लगाएका प्रसाई सुवेदीकै नेतृत्वमा आन्दोलनमा जानुपर्ने बताइरहेका छन्। यसअघिको फागुन २५ को ज्ञानेन्द्रको स्वागतमा समेत आफूले गरेको कार्यक्रमबाट दुई दलले जस लिन खोजेको प्रसाईले आरोप लगाएका थिए। अब प्रसाई सुवेदीलाई अघि सारेर आफू आन्दोलनमा होमिने तयारीमा रहेको बताउन थालेका छन्।

‘अब अर्जुन बन्छु, तपाईँ कृष्ण बनिदिनु, राजतन्त्र फर्काउनुपर्छ,’ प्रसाई भन्छन्। प्रसाईले राजेन्द्र लिङ्देन र महामन्त्री धवल राणाबाट राजतन्त्र नआउने दाबी गरेका छन्। लिङ्देन-राणा राजतन्त्रको पक्षमा आउने हो भने सांसदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

ज्ञानेन्द्रले रोजेको कमजोर ‘सारथि’

सुवेदी नेतृत्वमा आन्दोलनमा होमिँदा राजावादी तितरबितर भएका छन्। सुवेदीबाट आन्दोलन चल्न नसक्ने बताएका छन्। राप्रपा र अन्य राजावादी आन्दोलनमा समेत अहिले युवा छन्। तर ज्ञानेन्द्रले वृद्ध नेता छाने। यसभन्दा अघि २०६१ सालमा संसद् विघटन गरेपछि तुलसी गिरीलाई मन्त्रिपरिषद्को नेतृत्व दिएका थिए। गिरी पनि पन्च नेता हुन्। यसैले पनि ज्ञानेन्द्रले पार्टीप्रति विश्वास नगरेको गुनासो छ। ज्ञानेन्द्रको छनोट नै विवादमा परेको नेताहरूको गुनासो छ।

‘राजाले छानेको नेतृत्व नै विवादित भयो,’ राप्रपाका एक नेता भन्छन्, ‘सही नेतृत्व ल्याएको भए सबै एकताबद्ध हुन्थे।’ ती नेता ज्ञानेन्द्रले पनि पछिल्लो राजनीतिलाई नबुझी नेतृत्व छनोट गरेको बताउँछन्। ‘२०२० सालदेखि पञ्चायत कालमा पटक-पटक उनले लाभ लिएका छन्। तर अब पनि फेरि नेतृत्व दिइएको छ,’ ती नेता भन्छन्, ‘नेतृत्व चलायमान हुनुपर्नेमा विवाद निस्कियो।’

प्रकाशित: ६ चैत २०८१ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast