सम्भव छ त कम्बोडियासँग सीधा हवाई उडान र धार्मिक पर्यटन सञ्जाल निर्माण?

हिमाल प्रेस ६ चैत २०८१ १३:०१ | Wednesday, March 19, 2025
सम्भव छ त कम्बोडियासँग सीधा हवाई उडान र धार्मिक पर्यटन सञ्जाल निर्माण? कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे त्यहाँका पर्यटनमन्त्री हुअट हाकसँग। तस्बिर सौजन्य : नागरिक उड्डयन मन्त्रालय

काठमाडौँ- नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सीधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल भएको छ। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्यहाँ मन्त्रीहरूसँगको भेटमा यसबारे छलफल गरेको पाण्डेको सचिवालयले जनाएको छ।

मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भेट गरेका थिए। कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पाण्डेले दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने बताएका थिए। आफू कम्बोडियामा उत्रनेबित्तिकै नेपालमा जस्तै सडकका कुनाकुनामा गणेश भगवानका मूर्ति दर्शन गर्न पाएको पाण्डेको भनाइ थियो।

नेपालका प्रमुख धार्मिक स्थलहरू लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अंकुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थल मन्त्री पाण्डेको भनाइ छ। उनले भने, ‘हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ।’ दुई देशबीच सीधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटक आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुवै पक्ष सहमत भएका छन्। यसका साथै बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ।

पाण्डेले भगवान् बुद्धको नेपालमा जन्म भए पनि कम्बोडियामा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पयर्टकले सहज भ्रमण गर्न सक्ने बताएका थिए। भेटवार्ताका क्रममा मन्त्री पाण्डेले भनेका थिए, ‘कम्बोडिया र नेपालका इतिहास र धर्म एकअर्कासँग गहिरो सम्बन्ध राख्दछन्।’

मन्त्री पाण्डेले नेपाल र कम्बोडिया संघर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वत्तोर विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका थिए।

मन्त्री पाण्डेले कम्बोडियाको एसिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भने, ‘परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउनेछ।’ उनले भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई विशेष सहुलियतसहितको व्यवस्थापछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरे।

कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तूप निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटीको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।

कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ। पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि यूएन टुरिजमको बृहत्तर छाताअन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ। कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ६ चैत २०८१ १३:०१ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast