
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो मनको बोझ हटाउन चाहन्थे। युक्रेनविरुद्ध सुरु गरेको युद्धका लागि युद्धविरामको प्रस्तावको जवाफ दिनुअघि पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए। मार्च १३ मा मस्कोमा आफ्नो सम्बोधनमा पुटिनले भने, ‘युक्रेन सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद!’
यो कुनै संयोग थिएन। राजनीतिशास्त्र र राजनीतिक विषयमा विश्लेषण गर्ने वेबसाइट रिडल रसियाका प्रधानसम्पादक एन्टोन बारबासिनले भने, ‘पुटिन चाहन्थे- ट्रम्पले मानून् आफ्नो रुचि सम्झौतामा छ।’ पुटिन ट्रम्पलाई जेलेन्स्कीले जस्तो गरी समस्यामा पार्न चाहँदैनन्। बारबासिन भन्छन्, ‘बरु रूसी राष्ट्रपतिको चाहना छ, ट्रम्पले यस्ता सबै काम गरून्, ट्रम्प उनीसँग कुरा गरून् र सम्झौतामा पुगोस्।
यद्यपि पुटिनले सम्झौताबारे जुन धारणा अघि सारेका छन्, त्यो ट्रम्पको सोचभन्दा फरक छ। अमेरिकी राष्ट्रपति सबैभन्दा पहिला युक्रेन र रूसबीच ३० दिनको युद्धविराम चाहन्छन्। यसबारे पुटिनले समर्थन गर्ने संकेत पनि गरेका छन्। तर उनले यो पनि भनेका छन् ‘केही प्रश्नहरू बाँकी छन्, जसबारे कुरा गर्नुपर्छ।’ त्यसैले सर्वत्र जिज्ञासा उत्पन्न भएको छ- यी प्रश्नहरूबाट उनको अभिप्राय के हो? यी प्रश्नले शान्तितर्फ अघि बढ्ने रूसको योजनाबारे के बताउँछ?
पुटिनले आफ्ना फरक मत प्रश्नका रूपमा अघि सारेका छन्। वास्तवमा ती प्रश्न होइनन्, ती त उनका स्पष्ट माग हुन्। पुटिनको माग छ- युक्रेनी सैनिक जो अझै पनि रूसको कुर्स्क क्षेत्रमा लडिरहेका छन्, तिनले आत्मसमर्पण गर्नुपर्छ। युद्धविराम अवधिमा युक्रेनलाई नयाँ सैनिक भर्ती गर्न अनुमति दिइनुहुँदैन। यस अवधिमा पश्चिमा देशहरूले युक्रेनलाई हतियार उपलब्ध गराउनमा रोक लगाउनुपर्छ।
पुटिनको भनाइअनुसार युद्धविरामको परिणाम यस्तो हुनुपर्छ कि लामो समयसम्म शान्ति स्थापित होस् र युद्ध अन्त्य होस्। यस्ता जटिल प्रस्तावमार्फत उनी रूसले युक्रेनसँग सम्झौता गर्न चाहन्छन्।
एन्टोन बारबासिनले भने, ‘रूस यस्तो युद्धविरामको प्रयासमा छ, जुन सीधै शान्ति वार्तासम्म पुगोस्।’ यसको अर्थ रूसले सीधै धेरै सहुलियत लिन खोजिरहेको छ। यसमा यो विषय पनि समावेश छ- युक्रेनलाई कहिल्यै पनि नाटोको सदस्य बनाइने छैन। बारबासिन भन्छन्, ‘रूस यो कुरा नाटो र युक्रेन दुवैबाट पक्का गर्न चाहन्छ।’
पुटिनले सुरु गरेको युद्धको एउटा लक्ष्य यो पनि थियो कि युक्रेनले लुहान्स्क, डोनेत्स्क, जापोरिझिया र खेरसोनका क्षेत्रहरू पूर्ण रूपमा छोडिदियोस्। यद्यपि यी क्षेत्रमा रूसी सेनाले अहिलेसम्म आंशिक रूपमा मात्र कब्जा गर्न सकेको छ।
रूसका पक्षमा झुकाव राख्ने जानकारहरूको विश्वास छ ट्रम्पले पुटिनका सर्त मान्न सक्छन्। रूसी राजनीतिशास्त्री सर्गेई मार्कोवले टेलिग्राममा लेखेका छन्, ‘अमेरिका हतियार सहायता रोक्ने मागमा सजिलै सहमत हुन सक्छ किनभने ट्रम्प युक्रेनमा थप अमेरिकी पैसा खर्च गर्न चाहँदैनन्।’ मार्कोवको अनुमानअनुसार युक्रेनी सेनामा भर्तीको धेरै विवाद छ। त्यसकारण हतियार सहायतामा प्रतिबन्ध लगाएमा युक्रेनी सरकार बलियो बन्न सक्छ।
केही दिनको प्रतिबन्धपछि अमेरिकाले फेरि युक्रेनलाई हतियार आपूर्ति सुरु गरेको छ। सेनामा भर्ती एउटा मात्र उपाय हो। त्यसो गरेमा मात्र युक्रेनले आफ्नो रक्षा गर्न सक्छ। यस्तो अवस्थामा युक्रेन पुटिनका सर्तमा सहमत हुने सम्भावना देखिँदैन।
सुरक्षा विशेषज्ञ डिमित्री एल्पेरोविचले भने, ‘हामीले अमेरिकाबाट धेरै कुरा सुने पनि वास्तवमा युक्रेनसँग अझै धेरै ट्रम्प कार्ड छन्।’ उनको भनाइअनुसार युक्रेनले युरोपेली देशहरूको सहयोगमा आफ्नो रक्षा गर्न सक्छ, त्यो पनि अमेरिकाको सहायता बिना। यो कार्य निकै कठिन भए पनि युक्रेनसँग यो विकल्प छ।
धेरै जानकारहरूको बुझाइमा रूस यो विवाद समाधानका लागि केही थप समय चाहन्छ। रूसको कुर्स्क क्षेत्रमा प्रवेश गरेका युक्रेनी सैनिकहरूलाई हटाउन उसको सेनालाई समय चाहिन्छ। ट्रम्पलाई मनाउन वा थप सम्झौताका लागि पनि रुसलाई समय चाहिन्छ।
बारबासिनका अनुसार पुटिनले आफ्ना माग पूरा गराउन सफल भए भने यसले युरोपेली सुरक्षा रणनीतिबारे ठूलो बहस उत्पन्न गर्न सक्छ। ट्रम्पको नाटोप्रतिको संशय लुकेको विषय होइन। सायद उनी यसमा कुनै सम्झौतामा भाग लिन तयार पनि होलान्। यो रूसका लागि एउटा अनौठो अवसर बन्न सक्छ।
यसका साथै ट्रम्पसँग पुटिनलाई प्रभावित गर्ने विकल्प सीमित छन्। पुटिन भने पश्चिमा देशहरूको प्रतिबन्ध भए पनि रूसको अर्थव्यवस्था राम्रारी चलिरहेको दाबी गर्छन्। यसको मुख्य कारणचाहिँ सैन्य खर्चमा गरिएको ठूलो लगानी हो।
बर्लिनको कार्नेगी रसिया युरेसिया सेन्टरका अलेक्जान्डर बाउनोव भन्छन्, ‘ट्रम्पले सीमित सफलता मात्र हासिल गर्न सक्छन्, या त उनले रूसबाट अस्वीकृति पाउन सक्छन् वा सम्झौता पालनाको झूटो आश्वासन। यस्तोमा उनले दण्डको सट्टा पुरस्कारको नीति अपनाऊन् र ठूलो सम्झौताको प्रलोभन प्रयोग गरून्।’ स्पष्ट छ कि यो कुरा पुटिनको उद्देश्यसँग पनि मेल खान्छ। डीडब्ल्यूबाट