शिक्षक कर्मचारीले अब काठमाडौँमा आन्दोलन गर्नु अगावै शिक्षा ऐन जारी हुन्छ : प्रचण्ड

हिमाल प्रेस ३ चैत २०८१ ११:१७
3.7k
SHARES
शिक्षक कर्मचारीले अब काठमाडौँमा आन्दोलन गर्नु अगावै शिक्षा ऐन जारी हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष, सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षक कर्मचारी आन्दोलनलाई सम्बोधन गर्दै काठमाडौँ आउन नपर्ने र चैत २० गते अघि विद्यालय शिक्षा ऐन जारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक–२०८० लाई अविलम्ब ऐनको रूप दिनुपर्ने माग गर्दै शिक्षक कर्मचारी दुई महिनादेखि आन्दोलनमा रहेका छन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा भएको यो आन्दोलन अहिले दोस्रो चरणमा पुगेको छ। महासंघले चैत २० गते काठमाडौँ मा चार लाख शिक्षक उतार्ने बताएको छ भने त्यसअघि रिले अनशन बस्ने निर्णय गरेको छ। महासंघका नेता र सदस्यहरू ‘जितिन्छ कि बितिन्छ’ भन्ने नारासहित ऐन जारी गराउने संघर्षमा जुटेका छन्।

आन्दोलनको क्रममा महासंघले अध्यक्ष प्रचण्डलाई भेटेर ऐन जारी गर्ने कार्यमा सहमति जनाउन आग्रह गरेको थियो। महासंघका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले शिक्षा ऐन जारी गर्न चैत २० गते अगाडि प्रतिपक्षी दलको नाताले सहयोग गर्ने आश्वासन दिएका छन्।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले प्रचण्डको भनाइलाई उद्धृत गर्दै हिमालप्रेससँग भनिन्,‘शिक्षक कर्मचारीहरू आन्दोलनमा जानैपर्ने अवस्था राज्यले नबनाउनु पर्ने हो। प्रतिपक्षी दलको नाताले  चैत २० गते अगाडि नै ऐन ल्याउन पहल गर्छौं। तपाईंहरूले २० गते काठमाडौँमा आन्दोलन गर्न नपर्ने अवस्था बनाउँछौं।’

तर, सहअध्यक्ष पराजुलीले,‘शिक्षा ऐनका लागि नेताहरूले मिठा कुरा गरेका छन्, तर व्यवहारमा कति आउँछ भन्ने कुरा हेर्न बाँकी छ’ भनिन्। यसले आगामी दिनमा सरकार र शिक्षक कर्मचारीहरूको बीचको संवाद र कार्यान्वयनमा अझै अनिश्चितता रहेको संकेत गर्छ।

महासंघले यो आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन विभिन्न रणनीतिहरू तय गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast