
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भन्दै सूचित गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती जानकारी दिएको हो ।
प्राधिकरणले बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने जनाएको छ। ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ। सोही वितरण केन्द्रको सतुंगल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ।
यस्तै, जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ। मुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ।
सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।